समाचारशनिबार, कार्तिक २८, २०७२
उपत्यकाका लागि बाराबाट २०० ट्रक दाउरा
ग्यासको अभावमा चुलो बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि आइतबारदेखि दाउरा बिक्री हुने भएको छ ।
टिम्बर कर्पोरेसनले आइतबार, २९ कात्तिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री गर्न लागेको हो ।
उपभोक्ताका लागि दाउराको मूल्य प्रतिकिलो रु १५ तोकिएको छ ।
बिक्रीका लागि बाराबाट हाल एक लाख १० हजार किलो दाउरा ल्याइएको वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
“चुलो बाल्न नपाएका परिवारका लागि प्राथमिकता दिई दाउरा बिक्री गरिनेछ, उपत्यकामा ग्यास सहज नभएसम्म दाउरा बिक्रीलाई निरन्तरता दिइनेछ, ” उनले भने ।
उपत्यकामा ग्यास सहज हुन नसकेपछि वनमन्त्री अग्निप्रसाद सापकोटाले मङ्गलबार बाराका वनबाट दाउरा ल्याई बिक्री गर्न निर्देशन दिएका थिए ।
पहिलो चरणमा बाराबाट २०० ट्रक दाउरा ल्याइएको छ ।
ती दाउरा बिक्री गरिसकेपछि नवलपरासीबाट थप दाउरा ल्याई बिक्री गरिने टिसिएनले जनाएको छ ।
रासस