ब्लगआइतबार, कार्तिक २९, २०७२
यही बर्खैमा…!
भूकम्पपछिको पुनःनिर्माण कहिले होला भन्दै पिरोलिने होइन, बरु सकारात्मक सोचमा शक्ति हुने भएकोले कुनै न कुनै बर्खाअघि त्यो हुन्छ भन्ने विश्वासलाई दृढ पार्दै दिन कटनी गर्ने हो!
किन यस्तो बाडुली लाग्यो भनी गम खाँदाखाँदै झ्ल्यास्स भयो, आज त वैशाखे बित्यासको अर्द्धवार्षिक तिथि पो रहेछ। बासी घाउ बल्झेर बेस्कन मन हुँडलियो। ‘पोहोर खसिन् सासू, अहिले आयो आँशु’ तालको यो कुन साखुल्य रहेछ भन्नुहोला, तपाईं।
म राजनीतिज्ञ हुँ। यही छेकोमा अफगानिस्तान र पाकिस्तानमा पनि ठूलै भूकम्प जाँदा नेपालको वैशाख सम्झेर झ्न् बैरागिएको छु।
टाठा राजनीतिकर्मीहरू घिच्रोसम्म पानीमा डुब्दा’नि ओभानो पल्टिन सक्छन्, तर हृदय कोमल भएको म अभागी राजनीतिज्ञको अपजसे खप्पराँ भने जताबाट पनि ठक्करै मात्र पर्छ।
भूकम्पको वेला राहतको पन्तरो झुन्ड्याउँदै आएका देशी/विदेशी बाबुसाहेबहरूले एकीकृत बस्ती र व्यवस्थित शहर विकासको सपना देखाएर हवाई महलमा झुलाउन्जेल हाम्लाई कम्ता गिल्ला गरेनन्।
सग्लो गाउँ र जिल्लै पुनःनिर्माणको ठेक्का लिइदिने मान्यवरहरूको वाचा प्रतियोगिता चलुन्जेल भूकम्पन नआइदेर पो हाम्रो दिन नबलेको रै’छ भनेजस्तो लाग्यो।
त्यसका खप्पर ४५ सालमै यस्तो महाभूकम्प सुमर्न पाइया’भे उहिल्यै नयाँ नेपाल बनिवरी अहिले त थप विशेषणयुक्त खेतीपाती शुरू भइसक्ने थकथकी समेत भएर मर्यो।
संगत गुनाको फल, मैले पनि त्यो गफको मौसममा दह्रै जोतेको थिएँ। तर, सलह झैं ओइरिएका विकासवीरहरू अलप हुँदा म पगटा बोकेर थोपडा देखाउन बाध्य छु।
मनभित्र ‘साइलेन्ट मोड’ मा छुटिरहेको रनाहमा मैले भूकम्प पीडितको खसोखास अवस्था पहिल्याउन गहन अध्ययन गर्ने लेठो मोलें। सामाजिक अनुसन्धानमा गलत निचोड निस्किने बबाल खतरातर्फ सदैव चनाखो रहनुपर्ने छटाकका ज्ञानीहरू बताउँछन्, तर मेरो अनुभवले भन्यो, यसको ‘डेन्जरम्’ पाटो ‘डेटा’ संकलन रहेछ।
राजनीति र अध्ययनबीच के साइनो हुन्छ? भन्दै तपाईं ठुङ्न तम्सिनुहोला, तर जाज्वल्य प्रमाण नपेशेसम्म राजनीतिको कुरालाई घाममा सुकाइने हुँदा म आफ्नो अनुभव बयानको अनुमति नमागी के छाड्थें?
“ग्याँस तुरिएको त छैन नि?” दुर्गममा भेटिएका पहिलो भूकम्पपीडितलाई सोधें। “ग्यास्ट्रिकले पो हैरान छु!”
“सार्वजनिक सवारी साधन पातलिंदा कत्तिको दुःख छ?”
“गाउँमा सडक नभएकाले अहिलेसम्म गाडी चढ्ने लेठो मोल्नुपरेको छैन।”
“पेट्रोलको लाम बस्दाको धपेडी कस्तो छ?”
“पेटको आगो ननिभ्ने नाथे पेट्रोलसँग हाम्लाई लेना न देना!”
त्यहाँबाट छड्किएर दोस्रोलाई सोधें, “ब्यांकबाट ऋण पाइयो त?”
“भैंचालोले सिरिखुरी पारिगो, कसको जेथो राखेर ऋण काढ्नू?”
“काठमाडांैमा घर भए पच्चीस लाखै पाउँछौ!”
“राजधानीमा घर भइद्या’भे यो अनकन्टारमा केको पालवासी हुन्थें?” उसले मुड्क्याउने मूड देखायो।
उतिखेर वर्षात्ले निम्त्याउने खतराको ठूलो हिन्हिनाहट थियो। भूकम्पपीडितलाई उक्सेरो लाउने ध्येयमा यतिविघ्न मग्न भइएछ कि बर्खा निथि्रएर हिउँद लागिसकेको मालूमै भएन।
यस्तो कर्तव्यपरायण राजनीतिज्ञ व्यहोर्न पाएका सौभाग्यशाली जनताले थोरबहुत कष्टरूपी हर्जाना भर्नुपरेकोमा गनगन गर्नुको कौनो तुक हुन्न। सत्यापनका लागि ‘बर्खामा पानी पर्यो?
पानीले रुझाउँदो रहेछ कि नाईं? हिउँदमा जाडो हुन्छ? टहरोमा एसी चल्छ/चल्दैन?’ जस्ता जल्दाबल्दा प्रश्नहरूको उत्तर खोज्ने क्रममा डँडाल्नोले खेपेको सास्ती एवं भेटेको झ्ट्टीको हिसाब गरिसाध्य छैन।
यसरी थुपारेको तथ्यांकलाई घच्चीको ‘डिटर्जेन्ट’ ले प्रशोधन गरी मनमौजी ‘स्याम्पलिङ’ गर्दा घोर्ले निचोड निस्क्यो– भूकम्पपीडितलाई हाइसोख रहेछ। ग्याँस, पेट्रोल र गाडीको टन्टा नाईं। ऋण/धनको टन्टा पनि छैन। बरु शहराँ कन्तबिजोग छ!
‘यस्तो हाइसोख किन छाड्छौ? तिमी पनि टहरो हालेर यतै पसारो पर’ भन्दै कोही परक्क बटारिए बाल भएन, किनकि हाम्ले सक्दो गरेका हुम्। फास्टले मात्र ढिला हुने बुझेर भूकम्पपीडितका खातिर हाम्ले सुपरफास्ट ट्रयाकबाट संविधान ल्यायौं। उसमाथि, दोस्तभाइका मुखबाट खर्बौं जुटिसकेकोले चिन्ताको कौनो दरकार नाईं, ढुक्कसँग पालमा निदाए हुन्छ।
फेरि, ऐन खादको अभावमा पुनःनिर्माण प्राधिकरण अहिले मूर्च्छावस्थामा रहे पनि त्यो गठन भइसकेकाले अब उत्पात हुने कुरा पत्याउनै पर्यो।
त्यसका लागि संजीवनी सुँघाउनुको ढिलाइ भइरहेको मात्र हो। कहिलेसम्म त्यो जादू होला? भन्ने प्रश्नकर्तालाई मेरो जवाफ हुनेछ, “जोखाना हेर्ने झाँक्री नभए’नि, सकारात्मकतामा शक्ति हुने ज्ञानीजनको मत भएकाले कुनै न कुनै बर्खाअघि त्यस्तो चमत्कार हुने दृढ विश्वास पालम्!”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
