समाचारआइतबार, कार्तिक २९, २०७२

भारतीय नाकाबन्दी अमानवीयः प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमाथि गरेको नाकाबन्दी युद्ध कालको भन्दा पनि अमानवीय भएको भन्दै दुई देशबीचको युगौं पुरानो सम्बन्ध र दुबै देशका जनताको भावना अवमूल्यन नगर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

२९ कात्तिक साँझ प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भूकम्पले पुर्‍याएको भन्दा पनि धेरै ठूलो क्षति र पीडा नाकाबन्दीले निम्त्याएको भन्दै अघोषित नाकाबन्दीको अन्त्य, मुलुकको स्वाभिमानको रक्षा, भूकम्पपछिको पुनर्निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

सम्बोधनका क्रममा पटकपटक भारतले गरेको नाकाबन्दीले पुर्‍याएको क्षति र पीडाका बारेमा बोलेका प्रधानमन्त्री ओलीले जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक प्रक्रियाबाट अत्यधिक सहमतिमा संविधान जारी गर्दा नाकाबन्दी जस्तो पीडा भोग्नुपर्ने कल्पना समेत गर्न नसकिने बताए ।

मधेशकेन्द्रित दलहरुतर्फ लक्षित गर्दै उनले आन्तरिक मामिलामा बाह्य पक्षको संलग्नताले ल्याउने संकट र त्यसबाट चुक्ता गर्नु पर्ने मूल्य बारे संवेदनशील हुन आग्रह गरे । उनले आन्दोलन र नाकाबन्दीले तराई–मधेशका जनता नै बढी आक्रान्त भएको भन्दै आन्दोलन छोडेर वार्तामा आउन उनीहरुलाई आग्रह गरे ।

उनले भने, “अघोषित नाकाबन्दीले औषधिको अभाव भई विरामीको जीवन संकटमा परेको छ । रक्त संकलन गर्ने प्याकेट समेत भारतीय सीमामा रोकिंदा विरामीलाई रगतको अभाव भएको छ । बालबालिकाका औषधी र पोषणयुक्त खानाको अभावमा उनीहरुको जीवन संकटमा छ । एम्बुलेन्स चलेका छैनन । विद्यालय बन्द हुँदा लाखौं विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सबैभन्दा बढी मर्कामा भूकम्पपीडितहरु परेका छन् ।”

उनले जारी वार्तालाई छिटो परिणाममुखी बनाउन पनि आन्दोलनरत दलसँग आग्रह गरे ।

मधेशकेन्द्रित दलहरुका माग संविधान संशोधन मार्फत पूरा गर्न सकिने र सीमांकनको विषय पनि राजनीतिक सहमतिमा संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत टुंग्याउन सकिने भन्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत दलहरुलाई आन्दोलन छोडेर वार्तामा आउन जोड दिए ।

उनले नेपालले इन्धन संकट भोगिरहेका बेला नेपाललाई अनुदानमा इन्धन उपलब्ध गराएको भन्दै चीन सरकारलाई धन्यवाद समेत दिए । त्यसैगरी चीन तर्फका नाका खुलाउन र सडकहरुको स्तरोन्नतीका लागि समेत सरकारले विशेष जोड दिने बताएका थिए ।

उनले वर्तमान प्रतिकुलतामा पनि नेपाली जनताले सुुझवुझ र कष्ट सहन गर्ने क्षमता देखाएको भन्दै आभार प्रकट गरे । राष्ट्रिय हित र एकताका पक्षमा उभिन र वर्तमान संकटको अवस्थामा गम्भीर हुन आन्दोलनरत दलहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले एक वर्षमा लोसेडिङ अन्त्य गर्ने, ग्यासमाथिको निर्भरता घटाउने, नेपालको आयात निर्यात विविधतायुक्त बनाउने, नवकरणिय र जैविक उर्जालाई प्राथमिकता दिने, स्वदेशी उत्पादनमा वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।

त्यसैगरी दुई वर्षमा नेपाललाई खाद्द वस्तुमा आत्म निर्भर बनाउने, काठमाडौंमा मेट्रो रेल चलाउने योजना पनि उनले सुनाए ।

उनले अब पुनर्निर्माण विधेयक पारित गरेर प्राधिकरण तत्काल गठन गर्ने, भूकम्प पीडित जनतालाई आवास दिइने र पीडितलाई दिने भनिएको दुई लाखको पहिलो किस्ता राहत तत्काल उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री ओलीले जाडो अगाडि नै हिमाली भेगमा टहरा बनाइने समेत घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>