समाचारआइतबार, कार्तिक २९, २०७२

विद्युतको औद्योगिक खपत ७ गुणा घट्यो

हिमालखबर

भारतको अघोषित नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका कारण विद्युतको औद्योगिक खपत करिब ७ गुणा घटेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार दैनिक करिब ३५० मेगावाट विद्युत औद्योगिक क्षेत्रमा खपत हुने गरेकोमा गत ३१ साउनदेखिको मधेशी मोर्चाको आन्दोलन र ६ असोजदेखिको भारतको नाकाबन्दीका कारण ९० प्रतिशतभन्दा बढी उद्योग तथा कलकारखाना बन्द छन् ।

“अहिले विद्युतको औद्योगिक खपत करिब ५० मेगावाटभन्दा बढी छैन,” प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने।

औद्योगिक खपत घटेपछि लोडसेडिङ भने हप्ताको १८ घण्टामा सीमित भएको छ । उद्योग तथा कलकारखाना नचल्दा बचेको करिब ३ सय मेगावाट विद्युत सर्वसाधारणले उपयोग गर्न पाएपछि लोडसेडिङ बढ्न नपाएको हो ।

“उद्योग कलकारखाना चलेका भए अहिले कम्तिमा दैनिक १० घण्टा लोडसेडिङ हुन्थ्यो,” कार्यकारी निर्देशक काफ्लेले भने ।

आन्दोलन भइरहेको तराई मधेशका १६ जिल्लामा मात्र करिब २ हजार २ सय गरी देशमा करिब ४ हजार २ सय उद्योग तथा कलकारखाना सञ्चालनमा छन् ।

स्वतन्त्र उर्जा उत्पादक र प्राधिकरणको गरी विद्युत प्लान्टको कूल जडित क्षमता करिब ८१० मेगावाट छ ।

गत १२ बैशाखमा गएको भूकम्पका कारण अहिले पनि ९० मेगावाट क्षमता बराबरका विद्युत प्लान्ट सञ्चालनमा आउन सकेका छैनन् ।

भारतबाट आयात भइरहेको २१५ मेगावाट र स्वतन्त्र उर्जा उत्पादकको १८० मेगावाट सहित अहिले करिब ८४५ मेगावाट विद्युत आपूर्ति भइरहेको छ ।

गत वर्षको ‘पीक डिमान्ड’ करिब १ हजार ३ सय मेगावाट पुगेको थियो । यस हिसावले अहिले पनि ‘पीक आवर’ (साँझ ७–८ बजे) मा ४५५ मेगावाट विद्युत अपुग छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयले कुरै बुझेन
यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयले विहान, बेलुका विद्युत आपूर्ति कटौति नगर्न उर्जा मन्त्रालयलाई पत्राचार गरेको छ ।

१७ कात्तिकमा पत्र पठाएर वाणिज्य तथा आपूर्तिले साँझ ४ देखि ९ बजे र विहान ६ देखि १० बजेसम्म दैनिक ८ घण्टा विद्युत आपूर्ति कटौति नगर्न भनेको हो ।

“नेपालको दक्षिण तर्फका सीमा नाकाहरुमा हुने आयात निर्यात अवरोध भई अत्यन्त सीमित मात्रामा खाना पकाउने ग्यास आपूर्ति भएको छ,” पत्रमा उल्लेख छ, “माग अनुसार ग्यास आयात हुन नसक्दा खाना पकाउन विद्युतको उपयोग गर्नुपर्ने भएकाले उपभोक्ताको हितलाई ध्यानमा राखि विहान ५ देखि ९ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म विद्युत आपूर्ति नियमित हुने ब्यबस्था मिलाइदिनुहुन अनुरोध छ ।”

वाणिज्य तथा आपूर्तिले सचिवस्तरिय निर्णय नै गरी यस्तो अनुरोध गरेको हो ।

प्राधिकरणका एक उच्च अधिकारीले यस्तो अनुरोधलाई “हावादारी” भएको प्रतिक्रिया दिए ।

“यो समयमा विद्युतको माग एकदम उच्च हुने भएकाले कुनै पनि हालतमा लोडसेडिङ हुन्छ,” उनले भने, “विद्युत भण्डारण गरेर साँझ विहानमात्र वितरण गर्न मिल्दैन ।

प्राविधिक पक्ष नबुझी लेखिएको यस्तो पत्रको कुनै तुक छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>