समाचारसोमबार, कार्तिक ३०, २०७२
नेपालगञ्जमा ६४, भैरहवामा ५८ ट्यांकर इन्धन भित्रियो
दुई हप्तादेखि इन्धन आयात ठप्प भएका नेपालगञ्ज–रुपैडिहा नाकाबाट पछिल्लो तीन दिनमा ६४ ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।
२९ कात्तिकमा मात्रै भारतको रुपैडिहा हुँदै नेपालगञ्जमा ३१ ट्यांकर पेट्रोलिमय पदार्थ नेपाल भित्रिएको छ । जसमध्ये पेट्रोल ३, डिजेल २४, हवाई इन्धन ३ र मट्टितेल १ ट्यांकर र ५८ वटा मालबाहक गाडीहरु रहेको जमुनहा प्रहरीले जनाएको छ ।
२८ कात्तिकमा डिजेल ११, हवाई इन्धन र एलपी ग्यास ५/५ ट्यांकर, पेट्रोल र मट्टितेल १/१ गरी २३ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको थियो भने अन्य मालबाहक गाडी ५७ वटा आएका थिए ।
२७ कात्तिकमा पनि डिजेल ६, हवाई इन्धन ४ गरी १० ट्यांकर पेट्रोलियम पदार्थ भित्रिए भने अन्य ३३ वटा मालबाहक गाडीहरु भित्रिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म सीमापारी रहेका सबै पेट्रोलियम पदार्थका गाडीहरु नेपाल भित्रिसकेका छन् ।
अन्य मालबाहक गाडीहरु आउने क्रम जारी रहेको जमुनाहा प्रहरीले जनाएको छ ।
बेलहियाबाट इन्धनसहितका तीन सय बढी गाडी नेपाल भित्रिए
रुपन्देहीको बेलहिया नाका (सुनौली) बाट पनि इन्धनसहित मालबाहक साधन नेपाल आउने क्रम बढेको छ ।
आइतबार, २९ कात्तिक साँझ ६ बजेसम्ममा बेलहिया नाकाबाट इन्धनका गाडीसहित झन्डै ३०० मालबाहक साधन नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलहियाले दिएको जानकारीअनुसार साँझ ६ बजेसम्मा ३५ वटा डिजेल, २३ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन् भने १९६ बटा मालबाहक ट्रक, ३१ वटा पिकअप भ्यान, २२ वटा पर्यटक सवार बस र अन्य ५९ वटा साधन नेपाल भित्रिएका छन् ।
दिउँसो ४ बजेसम्म पाँचवटा एलपी ग्यासका बुलेट र आठवटा डिजलका गाडी आएको साँझ एकाएक इन्धनका गाडी नेपाल आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
सीमानाकामा कुनै पनि खालको अवरोध नभएपछि भारतीय पक्षले निर्वाधरुपमा मालबाहक साधन नेपाल पठाएको हो ।
शनिबार पनि २५० बढी गाडी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
आइतबारदेखि नै कपिलवस्तुका भन्सार नाका पनि सञ्चालन भएको कपिलवस्तु प्रशासनले जनाएको छ ।
केशव राना