समाचारमंगलबार, मंसिर १, २०७२
जनसंख्या मात्रैका आधारमा निर्वाचन क्षेत्र हुँदैन: नेम्वाङ्
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मधेशकेन्द्रित दलहरुलाई देशको समस्या समाधानका लागि दशगजा छोडेर सिंहदरबारभित्र आउन आग्रह गरेका छन् ।
१ मंसीरमा चांगुनारायणमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेम्वाङ्ले आन्तरिक समस्या समाधानका लागि दशगजामा बसेर आन्दोलन गर्नुको अर्थ नभएको भन्दै वार्ता गरी समाधान खोज्न आग्रह गरेका हुन् ।
जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नु समावेशी र न्यायोचित नहुने जिकिर गर्दै नेम्वाङले भने, “भूगोल र जनसङ्ख्या दुवैलाई आधार मानेर निर्वाचन क्षेत्र तोक्नु सान्दर्भिक हुन्छ, संविधानमा पनि यस्तै प्रावधान राखिएको छ ।”
भारतले समेत भूगोल र जनसङ्ख्याका आधारमा ५० हजारदेखि २९ लाख जनतालाई समेट्ने गरी निर्वाचन क्षेत्र तोकेका सन्दर्भ उल्लेख गर्दै उनले नेपालमा जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नु गलत हुने बताए ।
नेम्वाङले ८९ प्रतिशत सभासद्को समर्थन र ९९ प्रतिशत सभासद्को उपस्थितिमा जारी भएको संविधानमा कोही कसैको असन्तुष्टि भएमा राजनीतिक सहमतिका आधारमा संशोधन गर्ने प्रावधान रहेकाले असन्तुष्टको मागको वार्ताद्वारा समाधान खोज्न आग्रह गरेका थिए ।