खेलकुदमंगलबार, मंसिर १, २०७२
एभरेष्ट ट्रेल रेसको उपाधि भीम गुरुङलाई
एभरेष्ट ट्रेल रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका भीमबहादुर गुरुङले जितेका छन् ।
गुरुङले निर्धारित १७८ किमीको दूरी २० घण्टा २५ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै सन् २०१५ को उपाधि जितेका हुन् ।
उनले पाँच वर्ष यताकै एभरेष्ट ट्रेल रेसमा सबैभन्दा कम समयमा दौड पूरा गर्ने कीर्तिमानी समेत कायम गरेका छन् ।
गुरुङ भखरै सम्पन्न विश्वको सबैभन्दा उच्च स्थानमा हुने तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनमा समेत प्रथम भएका थिए ।
त्यस्तै स्पेनका भिए रोजियर दोस्रो भएका छन् । रोजियरले निर्धारित दूरी २२ घण्टा ५४ मिनेट २४ सेकेण्डमा पूरा गरेका छन् ।
स्पेनकै सोलेर जुवान तेस्रो भएका छन् । उनले निर्धारित दूरी २४ घण्टा ३१ मिनेट ५० सेकेण्डमा पूरा गरे ।
त्यसैगरी महिलातर्फ स्पेनका आना कोमेटले २४ घण्टा ४४ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएकी छन् ।
फ्रान्सका जुआना रोडाले निर्धारित दूरी २७ घण्टा २० मिनेट ३९ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् भने जर्मनीका भोटेगर जुलियले निर्धारित दूरी २८ घण्टा ४२ मिनेट ४४ सेकेण्डमा पूरा गरी तेस्रो भइन् ।
अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रालिको आयोजनामा भएको दौड प्रतियोगिता समुद्र सतहदेखि १ हजार ९५३ मिटरको उचाईमा रहेको जिरीबाट शुरु भई रामेछापको बाम्तीभण्डार, सोलुखुम्बुको चौंलाखर्क, गोली, पिके, जुनवेशी, टाक्सिन्दु, जुभिङ, खरिखोला, लुक्ला, फाक्दिङ, जोरसल्ले, नाम्चे, तेङबोचे, फोर्चे, खुम्जुङ ग्रीनभ्याली, स्याङबोचेहुँदै लुक्ला बजारमा आएर टुंगिएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि. आयोजक संस्थाका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए ।
पहिलो पटक सगरमाथा आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले हिडेको बाटोहुँदै धावकहरु प्रतियोगिताको अन्तिम बिन्दुसम्म पुगेको समेत निर्देशक शेर्पाले बताए ।
विजेताले नगद एक लाख ८० हजार, दोस्रो हुनेले एक लाख २० हजार र तृतीयले ७० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा १ नेपालीसहित २८ विदेशी गरी २९ जना धावकहरुले दौडमा प्रतिस्पर्धा गरेका थिए ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु