समाचारबुधबार, मंसिर २, २०७२
भारतीय नाकाबन्दीको विरोधमा न्यूयोर्कमा प्रदर्शन, राष्ट्र संघमा ज्ञापनपत्र बुझाइयो
भारतको नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार मध्याह्न १२ बजे शुरु भएको कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थित नेपालीप्रति अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।
दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र सङ्केत नदेखाएको कारणले संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए ।
एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले भूकम्पबाट क्षति पुगेको छिमेकीलाई अर्को छिमेकीले यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सास राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको जानकारी दिए ।
नाकाबन्दीको विरोध गर्दै नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले प्रेसविज्ञप्ति जारी गरेको छ भने आफ्नो वेबपेज र फेसबुकमा समेत विरोध जनाएको छ ।
रासस