समाचारबुधबार, मंसिर २, २०७२
कांग्रेस भन्छ, ‘निर्णायक भनिएको वार्ता बारे थाहा छैन’
सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता बारे कुनै जानकारी नभएको कांग्रेसले जनाएको छ ।
दुई दिनअघि भएको वार्तामा तीन प्रमुख दलले सीमाकंनबारे ठोस धारणा बनाएर आउने र आज, २ मंसीरमा अन्तिम वार्ता गर्ने भनिएको थियो ।
तर, कांग्रेसले आज हुने वार्ताबारे औपचारिक जानकारी नपाएको बताएको छ । आज सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, “सत्तारुढ दलहरुले तराई मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरे, कहाँ र कहिले वार्ता हुन्छ, हामीलाई कुनै जानकारी छैन ।”
प्रदेशहरुको सीमाकंन संशोधन गर्ने बारे भ्रम सिर्जना गरिएको भन्दै प्रवक्ता बडुले सीमाकंनमा संशोधनबारे छलफलका लागि कतैबाट पनि कांग्रेससँग प्रस्ताव नआएको र यसबारे पार्टीभित्र पनि छलफल नभएको बताए ।
बैठकले इन्धनको स्टकलाई समेत सरकारले व्यवस्थित वितरण गर्न नसकेको र कृत्रिम अभाव सिर्जना गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
संसदमा कांग्रेसले राखेको संविधान संशोधनको प्रस्तावमा तत्काल छलफल हुुनुपर्ने र त्यसलाई पारित गराउनका लागि संसदभित्र दबाव सिर्जन गर्ने पार्टी पदाधिकारी बैठकले निर्णय गरेको बडुले बताए ।
कांग्रेस एमालेसहितको सरकारले ल्याएको पुनःनिर्माण प्राधिकर सम्बन्धी विधेयकलाई जस्ताको त्यस्तै पारित गराउन पनि कांग्रेसले माग गरेको छ ।
नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता बडूलगायतको सहभागिता थियो ।
कपिल भट्ट, काठमाडौं