समाचारबुधबार, मंसिर २, २०७२

‘एक हप्तामा सबै अस्पतालमा औषधि आइपुग्ने’

हिमालखबर

medicines-lस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताएका छन् ।

मन्त्री चौधरीले विदेशी दाता र तेस्रो मुलुकबाट औषधि ल्याउने तयारी भएको साथै नियमित आपूर्तिकर्तालाई समेत औषधि आपूर्तिका लागि सबै विकल्प अपनाउन आग्रह गरिएको बताए ।

उनले भने, “मैले सबै अस्पतालका निर्देशकलाई बोलाएर अभाव भएका औषधिको सूची मागेको छु, एक हप्ताभित्रै सबै अस्पतालमा अभाव भएका औषधि पुग्छन् ।”

“जनताले पाउने स्वास्थ्य सुविधा नरोक्न कमी भएका औषधि अन्य देशबाट आयात गर्नेबारे पनि छलफल भइरहेको छ, ” चौधरीले भने, “हामीलाई औषधि चाहिएको छ भारतबाट मात्र ल्याउनुपर्छ भन्ने छैन अन्य देशबाट पनि ल्याउने तयारी गरेका छौँ ।”

स्वास्थ्य मन्त्रालयले विदेशीदाताबाट औषधि ल्याउने तयारी पनि गरेको उनले बताए ।

मन्त्री चौधरीले विदेशीदाताले औषधि दिन प्रतिवद्धता जनाएको तर भन्सारमा लाग्ने एक प्रतिशत मूल्य अभिवृद्विकर (भ्याट) नेपालले नै तिर्नुपर्ने शर्त राखेको बताए ।

“नेपाली जनतालाई स्वास्थ्य सुविधाबाट बन्चित हुन नदिन एक प्रतिशत भ्याट तिर्न अर्थ मन्त्रालयसँग कुरा भइसकेको र अर्थ मन्त्रालय भ्याट तिर्न तयार भइसकेको छ, अब चाँडै औषधि आउँछ,” उनले भने ।

स्वास्थ्य मन्त्रालयले नेपाली नाकामा आई गोदाममा थन्किएका औषधि काठमाडौँसम्म ल्याउन पनि पहल गरिरहेको जनाएको छ । त्यसका लागि तराईमा आन्दोलनरत दललाई पनि औषधि आयातमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।

यस्तै, भारतमै रोकिएका औषधिका ट्रकलाई अन्य नाकामा ‘डाइभर्ट’ गरी नेपाल ल्याउन भारतीय राजदूतलाई पत्र पठाइएको छ ।

भारतीय दूतावासले नाकामा रोकिएका औषधि नेपाल ल्याउन सहयोग गर्ने आशयसहितको जवाफीपत्र स्वास्थ्य मन्त्रालयमा पठाएको मन्त्री चौधरीले जानकारी दिए ।

एक हप्तामा जनतालाई चाहिने सम्पूर्ण औषधि आइपुग्ने बताउँदै उनले औषधिको अभाव हुन नदिन सबै सप्लायर्स र टेन्डरदातालाई निर्देशन दिइसकेको र एक हप्ताभित्र औषधि उपलब्ध नगराए उनीहरुको वोलपत्र (टेन्डर) खारेज गर्ने चेतावनी दिए ।

भारतको दुई महिनादेखिको नाकाबन्दीका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>