समाचारबुधबार, मंसिर २, २०७२

चीन पुगेर आएका मन्त्री पुन भन्छन, ‘सुलभ मूल्यमा इन्धन आउँछ’

हिमालखबर

punवाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताएका छन् ।

चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीन, बङ्गलादेशलगायतसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी दिए ।

नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि भोलि मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।

चीन भ्रमणमा आफूले त्यहाँका उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेको र त्यसले सकारात्मक वातावरण तयार गरेको बताउँदै उनले थपे, “आवश्यकताअनुसार सुलभ मूल्यमा इन्धन उपलब्ध गराउन चीन सहमत भएको छ । त्यसतर्फ जाने प्रतिनिधिमण्डलले सबै प्रक्रियाको टुङ्गो लगाउनेछ ।”

पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको उनले जानकारी दिए ।

उनले भने, “उच्च हिमाली क्षेत्रबाट गुणस्तरीय ग्यास आयात गर्न अप्ठ्यारो नपर्ने चिनियाँ प्राविधिकले बताएका छन् । सोहीअनुरुप अध्ययन गरिनेछ ।”

इन्धन आयात गर्दा चीन सरकारले लगाउने स्थानीय कर छुट दिन सहमत भएको उल्लेख गर्दै उनले भारत र चीनबाट इन्धनको मूल्यमा खासै अन्तर नहुने बताए ।

बङ्गलादेशबाट इन्धन आयात गर्दा भारतको अवरोध भएमा हवाई मार्ग पनि प्रयोग गर्न सकिने विकल्प रहेको बताउँदै उनले भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अधिकार प्रयोग गरेर भए पनि आयात गरिने दाबी गरे ।

कालोबजारी नियन्त्रण गर्दै इन्धनलगायतका अत्यावश्यक सामग्रीको पारदर्शीरुपमा उपभोक्तासमक्ष सहजरुपमा पु¥याउन गृह प्रशासन, स्थानीय निकाय र आयल निगमबीच सहकार्य गरेर अगाडि बढ्ने पनि मन्त्री पुनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>