Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खड्गशमशेरको खड्गो (इतिहास) - Himalkhabar.com

टिप्पणीबिहीबार, मंसिर ३, २०७२

खड्गशमशेरको खड्गो (इतिहास)

ज्ञानमणि नेपाल

चन्द्रशमशेर श्री ३ महाराज हुँदा दाजु खड्गशमशेर पाल्पा र भाइ देवशमशेर धनकुटा धपाइएका थिए।

चन्द्रशमशेरले देवशमशेरलाई श्री ३ महाराज बनेको चारै महीनामा भाइहरूको मद्दतले गद्दीच्युत गरी धनकुटा धपाए। राजधानी शहरमा सजधजसँग राजकाज गरिबसेका महाराजको मन सुदूर पहाडको उराठलाग्दो खुरखुरे डाँडामा के अडिन्थ्यो!

तै बरु पाल्पामा खड्गशमशेरलाई जस्तो तैनाथी दिएका भए पनि बस्दा हुन्, तर त्यो पनि नहुँदा हिउँद पनि नपर्खी घरघडेरी हेर्न इलामतिर जान्छु भन्दै हिंडेका, उसै उसै दोर्जलिङ्गतिर पसे।

यता रिसिएका महाराज चन्द्रले उनको जग्गाजमीन जफत गरी रुठ्ठै–बुठ्ठै पारिदिए अनि बाध्य भएर केही बिठ्याईं गर्लान् वा ब्रिटिशतिर मिल्लान् भनेर निचुलो गरेर अनुकूलसँग बसे महीनाबारी २ हजार रुपैयाँ दिने वचन दिए।

त्यो रकम ब्रिटिशमार्फत दिंदै आएकोमा सं.१९६० बाट खै किन हो आफ्नै हातबाट पठाइदिने सूचना रेजिडेन्टमार्फत दिए।

उता पाल्पाका खड्गशमशेरको कथा अलिक फरक छ। ४२ साल पर्व गर्दा खड्गशमशेरकै ताइँफाइँ बढी थियो। उनैले अघि सरेर बडाबाबु श्री ३ रणोद्दीप माथि पहिलो गोली ठोकेका थिए।

उनलाई कम्याण्डर इन चीफ भएर मात्रै बसिरहन मन लागेन, चाँडै श्री ३ हुने महत्वाकांक्षा जागेको थियो।

उनका मामा केशरसिंह पहिल्यैदेखिका सहयोगी छँदै थिए। यसको छनक कर्णेल फौदसिंहले श्री ३ वीरशमशेरलाई दिइसकेका थिए तापनि औसर परेको थिएन।

एक दिन सलाम गर्न यसो निहुरिंदा खड्गशमशेरको खोकिलाबाट पेस्तोल फत्रक्क खस्यो, तत्क्षण समातिएर पाल्पा गौंडातर्फ धपाइए।

पछि उनलाई त्यहाँको तैनाथी पनि दिइयो। खड्गशमशेर साहसी पनि थिए। काठमाडौंकै अनुकरणमा उनले बनाएको पाल्पा दरबारको बाहिरी ढोका सबभन्दा ठूलो मानिन्छ।

माओवादीले यस्ता पुराना धरोहर धेरै ध्वस्त पारिदिए, पाल्पा दरबार पनि ध्वस्त हुनेमै पर्‍यो। अहिले त्यसको जीर्णोद्धार भएको छ।

त्यो दरबारको बयान काशीनाथ आदीले गरेका छन्। त्यस महलमा काठमाडौंका दरबारमा जस्तै सुसारे नानीहरूको जमात कति हो कति।

एक दिन खड्गशमशेरले काशीनाथलाई भनेछन्, “पण्डितजी, एक्लै सुनसान कोठामा कुक्रुक्क परेर किन सुत्छौ! दरबारमा यतिका केटी छन्, छानेर दुई–तीन वटी लैजाऊ, रमाइलो गर।”

महाराज वीरशमशेरको स्वीकृतिबाट खड्गशमशेरको साथमा पाल्पा बसेका पण्डितले रामरौस गर्न लागेको कुरा कानमा पर्‍यो भने महाराजले बाँकी नराख्ने डर थियो।

सधैं होशियार रहनुपर्थ्यो, जागिरको सवाल थियो। पछि रुद्रशमशेरका पालामा पाल्पा दरबार पसेका एकजना नेपाल पण्डितले पनि दरबारका मस्त तरुनीहरूको चर्तिकला धेरै पहिले मलाई सुनाएका थिए। मालिक अनुसारकै अनुचर हुन्छन्, यो उक्ति सार्थकै हो।

मन परेकी रानी तेजकुमारी असमयमै परलोक हुँदा खड्गशमशेरलाई ठूलो शोक पर्‍यो। अत्यन्त मनपरेकी वेगम मुमताजको मृत्युशोकले विह्वल मुगल वादशाह शारजहाँले वेगमको समाधिस्थलमा विश्वलाई चकित पार्ने ताजमहल बनाए जस्तै खड्गशमशेरले पनि आफ्नी रानीको दाहसंस्कार गरेकै ठाउँ गण्डकी किनारको चप्लेंटी ढुंगामाथि रानीमहल बनाए।

वीरशमशेरले आफ्नो दरबारमा ग्याँसबत्ती झलमल पारे जस्तै खड्गशमशेरले रानी महलमा ग्याँसबत्तीले झिलीमिली पारे। त्यही दरबारमा बसेर खड्गशमशेर मन बहलाउँथे। उनी निकालिएपछि भग्नावशेषमा परिणत भएको यो दरबार राम्रो पर्यटकीय स्थल बनिरहेको छ।

खड्गशमशेरको पूरै चालढाल र ऐसआराम प्राइमिनिष्टरको जत्तिकै थियो। उनले श्री ३ महाराजको श्रीपेच मात्र लाउन बाँकी थियो। श्री ३ हरू जस्तै उनी सैरशिकार गर्न तराई झर्थे।

शिकार खेल्दै जाँदा उनले एक दिन रूपन्देहीको जंगलमा पुरातात्विक वस्तु देखेछन्। उनकै सूचना अनुसार भारतमा कार्यरत पुरातत्वविद् फुहररले उत्खनन् गरेर बुद्धको जन्मस्थल पत्ता लगाए। यसको श्रेय खड्गशमशेरलाई जान्छ।

मेरा एउटा दाजु पश्चिम पाल्पा गौंडा र अर्का दाजु पूर्वको धनकुटा गौंडामा बसेर राजकाज गरिदेलान्, म केन्द्रमा बसेर सुखसँग राजकाज चलाउँला भन्ने चन्द्रशमशेरको धोको बुझेर हो वा इशारै पाएर हो वा आफ्नै मनोवाञ्छाले, खड्गशमशेरले श्रीपेच बनाएर लाउने मन बनाएछन्।

यस्तो पोल कसैले लाइदियो अनि चन्द्रशमशेरले उनलाई दगाबाजी गरेको भनेर पाल्पाबाट निकालिदिए। यहाँ रेजिडेन्टले महाराज उपर खड्गशमशेरले दगा गरेपछि कतैबाट सुख पाएनन् भन्दै विस्मात् प्रकट गरेका छन्।

देवशमशेरलाई रुपैयाँ पठाएको

१० मे ३ बार
कप्तान– माहाराज देवशमशेरलाई महिनाको २००० रुपया पठाइदिउला भनी वीरगंजमा माहाराजबाट साहेबसंग कुरा गरी बक्सेको रुपैया मे महिनादेखी आफ्नै तरफबाट पठाइबक्सनाको इरादा गरि बक्सेको छ. तपायीको केही इतराज् छ की सोध्नु भनी माहाराजबाट हुकुम् बक्सेको छ.

रेजिडेन्ट–
मसुरीबाट अरु ठाउं जानु पर्‍यो भने दिउंला भनीबक्सेको होइन के. क– बृटिश गभर्मेंन्टले खटायेको ठाउंमा बसेर नेपाल गभर्मेंटको बरखिलाप्मा केही काम गर्दैनन् भने आलोयन्स दिउंला भनी हुकुम भयेको हो.

रे– माहाराज् ठूलो दिल भयेको होइबक्सिन्छ, पठाइबक्से हुन्छ येस्मा मैले केही गर्नुपर्छ की.

क– साहेब्को मंजुरी पायें जे गर्नु मुनासीब् छ गर्नुहोला.

खड्गशमशेर र निजको रानीबारेका कुरा

७ मे ७ बार
क– जनरल खड्ग शमशेरकी रानी सागरमा बेरामी भै साह्रो भयो. नीज्को छोरा नहुनाले सल्यान्मा बसेका सौतिनिका छोरा विक्रमशमशेरलाई चांडो पठाइदिये हुंदो हो भनी प्रिंसले लेखी पठाउदा नीज विक्रमशमशेरलाई जानु भन्न र हिफाजत्साथ पठाइदिनु भन्ने जिल्लाका हाकिम्लाई समेत लेखी गयो. साहेबलाई सलाम् दी भन्नु भनी माहाराज्बाट हुकम भयेको छ.

रे– जेनरल खड्गशमशेरले माहाराजमाथी दगा गरेदेखी नीजलाई दुख परी आयेको छ. अवशोच् लाग्छ मेरो तरफबाट मैले केही मदत् गर्नुपर्छ की? क– साहेबलाई खबर दिनु भन्नेमात्र हुकुम् भयेको छ. अरु केही हुकुम भयेको छैन.

२३ मे
क– जेनरल खड्ग शमशेरको रानि उज्जैन्मा परलोक भयेको आज ५ दिन भयो. माहाराजलाई जुठो परेको छ.

रे– अपशोच.

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>