समाचारबिहीबार, मंसिर ३, २०७२
‘कारखानामै आउने उपभोक्तालाई पुर्याउन सकिएन हिटर’
मध्यपुर थिमि–११ दिगुटोलका आशाबहादुर प्रजापतीको परिवारलाई एक महिना यता खाना खाने फुर्सदसम्म छैन ।
मध्यपुरथिमिमै पहिलोपटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन शुरु गरेपछि उनको नाम नै हिटर बाजे रहन पुग्यो । अहिले उनका छोरा–नाति सबैलाई हिटर बनाउन भ्याइनभ्याइ छ।
ग्यासको प्रचलन बढेपछि १० वर्षयता घटेको हिटरको माग भारतीय नाकाबन्दीका कारण अहिले ह्वात्तै बढेको छ । बजारमा हिटर सजिलै पाइँदैन ।
“भारतीय नाकाबन्दीपछि हिटरको माग थेग्नै नसक्नेगरी आएको छ, बनाउनै भ्याइन्न, मागअनुसार ३० प्रतिशत पनि दिन मुस्किल छ,” आशाबहादुरका नाति हरिशरणले भने ।
दैनिक ६ हजार हिटरको माग भए पनि ३०० भन्दा बढी दिन नसकिएको उनले बताए ।
माटोको हिटरमा प्रयोग हुने क्वायल र पातासमेत बजारमा अभाव भएकाले अब केही दिनपछि हिटर उत्पादन गर्न समस्या आउने भएको छ ।
माटोको समेत अभाव भएपछि विगतमा १२५ देखि १५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको १५०० वाटसम्मको हिटर अहिले ६०० रुपैयाँमा बिक्री भएको छ ।
प्रजापति भन्छन्, “बजारमा क्वाइल, पाता तेब्बर महँगो भएको छ, महँगोमा पनि सहज पाइँदैन, माटोको समेत अभाव रहेको छ, यो अवस्थामा महँगोमा सामान ल्याउनु परेकाले हिटर पनि महँगो भएको हो ।”
उपभोक्ताको मागअनुसार उत्पादन गर्न नसकेको बताउँछन्, दिगुका रामकृष्ण प्रजापति ।
अहिले माटोको हिटरको उत्पादन थिमिमा मात्रै हुने गरेको छ ।
हिटर लिन थिमि आएकी बालाजु बाइपास बस्ने देवकी श्रेष्ठले नाम लेखाएको एक सातापछि बल्ल हिटर पाएको बताइन् ।
व्यक्तिगत रुपमा आउने उपभोक्तालाई नै हिटर दिन नसक्ने अवस्था भएकाले व्यापारीको मागलाई पूरा गर्न नसकेको हिटर उत्पादकहरु बताउँछन् ।
रमेश गिरी, रासस