समाचारशुक्रबार, मंसिर ४, २०७२

चीनले मुस्ताङमा ६ गुणा अनुदान बढायो

हिमालखबर

chinaचीन सरकारले हिमाली जिल्ला मुस्ताङलाई बर्सेनि दिँदै आएको अनुदानमा यसवर्षदेखि वृद्धि गरेको छ ।

नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प र भारतीय नाकाबन्दीलाई दृष्टिगत गर्दै साविकको भन्दा छ गुणा अनुदान बढाएको जिविस, मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले बताए ।

चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, घमी र छुसाङ गाविसका सर्वसाधारणका लागि चीनले सात हजार ८०० बोरा सिमेन्ट, १५ हजार थान जस्तापाता, आठ हजार थान प्लाइउड, एक हजार २०० टन फलामको रड, २५ हजार केजी केराउ, २९ हजार केजी भटमास उपलब्ध गराएको कार्यक्रम अधिकृत थापाले जानकारी दिए ।

चीन सरकारले यसअघि नै उपल्लो मुस्ताङको लोमान्थाङमा ७० किलोवाटको सोलार प्रणाली जडान गरिदिएको छ । त्यसबाट त्यहाँका २२१ घरधुरी प्रत्यक्ष रुपमा लाभाविन्त भएका छन् ।

अनुदानका क्रममा थप ५०० थान सोलार प्यानल पनि पठाएको जिविसले जनाएको छ ।

चीनले उपलब्ध गराउने सबै अनुदानका सामान छोसेरस्थित कोरला नाका हुँदै सिधै लोमान्थाङ भित्रिएको थियो ।

सिमानासम्म दुवैतर्फबाट सडकको पहुँच पुगिसकेकाले नाकाबाट सामान आर्यात–निर्यात गर्न सहज हुने बताइएको छ ।
उक्त नाकालाई दीर्घकालीन रुपमा प्रयोग गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने मुस्ताङवासीको माग छ ।

उपल्लो मुस्ताङसँग सीमा जोडिएको तिब्बतका ढोवासेन जिल्लाका अधिकारीले उपलब्ध गराएको सामान लोमान्थाङका गाविस सचिव झुमी विष्टले बुझेको कार्यक्रम अधिकृत थापाले जानकारी दिए ।

चीनले मुस्ताङसहित हुम्ला, गोर्खा, मुगु, रसुवा, दोलखा र सिन्धुपाल्चोक जिल्लामा पनि यसरी अनुदान सहयोग गर्दै आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>