समाचारशुक्रबार, मंसिर ४, २०७२
एक लाख शरणार्थी पुनर्वासमा, देवीमाया अमेरिका जाँदै
नेपालबाट पुनर्वासमा तेस्रो मुलुक जाने भुटानी शरणार्थीको संख्या ४ मंसीरमा एकलाख पुगेको छ ।
झापाको बेलडाँगी– २ शरणार्थी शिबिर सेक्टर– इ १ छाप्रो नम्बर– ८६ की देबीमाया थापा तेस्रो मुलुक पुनर्वासमा जाने एकलाखौं शरणार्थी बनेकी छन् ।
थापाको आठसदस्यीय परिवार यसै साता अमेरिकाको ओहायोको लागि काठमाडौंबाट उड्दैछ ।
३ मंसीर साँझ काठमाडौंस्थित शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग र अन्तराष्ट्रिय आप्रबासी संगठन (आइओएम) ले आयोजना गरेको बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले थापा परिवारलाई खादा ओढाएर सुखद भविष्यको कामना गर्दै बिदाई गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ बर्षअघि आफू उपप्रधान तथा परराष्ट्रमन्त्री भएका बेला राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग र अमेरिकी अधिकारीहरुसँग छलफल गरेर भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्बास शुरु गराएको स्मरण गरे ।
ओलीले २१ बर्षअघि आफू गृहमन्त्री रहेका बेला शरणार्थी मामिलामा भुटानसँग वार्ता गर्दा भुटान कसैगरे पनि आफ्ना नागरिक फर्काउन तयार नभएको समेत स्मरण गरे ।
“भुटान आफ्ना नागरिक फर्काउन नमान्ने, भारत नबोल्ने” उनले भने, “त्यस्तो अवस्थामा मानिसहरुको भविष्य बर्बाद नहोस भनिकन आलोचना सहँदै पुनर्वास शुरु गरिएको थियो ।”
सन २००८ मा भुटानी शरणार्थीको पुनर्वास शुरु गर्दा ओलीलाई भुटानको राजनीतिक आन्दोलन असफल पार्न षडयन्त्र गरेको कतिपय भुटानी नेताहरुले आरोप लगाएका थिए ।
ओलीले शरणार्थी फर्काउन भुटानसँग भएका १५ पटकका वार्ता असफल भएको अवस्थामा नेपालले बुद्धिमत्तापूर्ण निर्णय लिएर अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी एकलाख बढी मानिसको संसारका बिभिन्न ठाँउमा सम्मानित जीवनको लागि ढोका खोलिदिएको दाबी गरे ।
कार्यक्रममा राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका नेपाल प्रमुख क्रेग स्याण्डर्र्सले एकलाख शरणार्थी पूनर्बासमा जानुलाई ठूलो सफलता बताए । उनले दाबी गरे, “यो पुनर्वासले शरणार्थीको जीवनमा उमंग ल्याएको छ ।”
कार्यक्रममा पुनर्बास भएर अमेरिकाको जर्जिया पुगेका बेलडाँगीका दिलिप दाहालले शिबिरको कष्टबाट ठूलो मुक्ति पाएको भन्दै नेपाल र अमेरिकी सरकार र उच्च आयोगलाई धन्यबाद दिए ।
“अमेरिकामा मैले भर्खरै घर किनेको छु र पसल चलाएको छु” उनले भने,“अरु नौ जना भुटानी साथीहरुलाई रोजगारी पनि दिएको छु ।”
उनले दशबर्षको उमेरमा बिना ठेगानाको गन्तब्यमा हिडेको सम्झिँदै भने “भुटानको घरबार र नेपालको शिबिरबास बिर्सन सकिँदैन, तर अब म अमेरिकी नागरिक भइसकेको छु ।” दाहाल २३ मार्च २००८मा बेलडाँगीबाट जर्जिया पुनर्बास भएका हुन ।
भुटानी शरणार्थी पुनर्वासको पहिलो खेप ४ मार्च २००८ मा झापाबाट अमेरिका उडेको थियो ।
हाल झापा र मोरङका शिबिरमा रहेका १७ हजार भुटानी शरणार्थीमध्ये करिब १२ हजार ५०० पुनर्वासको प्रक्रियामा छन् । करिब चार हजारले भने पुनर्बासमा चासो दखाएका छैनन् ।
पुनर्वासमा कति शरणार्थी कहाँ
संयुक्त राज्य अमेरिकाः ८४८१९
क्यानाडाः ६५००
डेनमार्कः ८७४
नेदरल्याण्डः ३२७
नर्वेः ५६६
न्यूजिल्याण्डः १००२
अष्टेलियाः ५५५४
संयुक्त अधिराज्य बेलायतः ३५८
-गोपाल गडतौला