अर्थ/बजारशुक्रबार, मंसिर ४, २०७२

चालू अावको तीन महिनामा पेट्रोलियम आयात ५७.८ प्रतिशतले घट्यो

हिमालखबर

kakadvittaचालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापारमा ३२.८ प्रतिशतले कमी आएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

पेट्रोलियम पदार्थको आयात मात्रै तीन महिनामा ५७.८ प्रतिशतले घटेको छ ।

गत वर्षको साउनदेखि असोजसम्म तीन महिनामा ३१ अर्ब ७१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा यसवर्ष भारतको नाकाबन्दीले गर्दा सोही अवधिमा रु १३ अर्ब ३८ लाख बराबरको मात्रै आयात भएको छ ।

पेट्रोलियम पदार्थ यसवर्ष साउनमा रु ६.८६ अर्व, भदौमा रु. ४.९९ अर्व, र असोजमा रु. १.५३ अर्वमा झरेको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्या‌ंक अनुसार आ.व. २०७२÷७३ को प्रथम तीन महीना (साउन, भदौ, असोज) को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.८ प्रतिशतले ह्रास आई रु.१४७.५१ अर्ब मात्रै छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.४ प्रतिशत र ८८.६ प्रतिशत छ । यो अवधिमा नेपालको कुल निकासी २६.४ प्रतिशतले घटेर रु १६.८३ अर्व तथा कुल पैठारी ३३.६ प्रतिशतले घटेर १३०.६८ अर्वमा सीमित हुन पुगेको प्रवद्र्धन केन्द्रको समिक्षा प्रतिवेदनमा जनाइएको छ ।

आ.व. २०७१/७२ को प्रथम तीन महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः८.६ भएकोमा आ.व. २०७२/७३ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः७.८ रहन आएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् ।

समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १७.६ प्रतिशतले वृद्धि भर्ई रु. २.२१ अर्व, तयारी पोशाकको निर्यातमा ५.६ प्रतिशतले वृद्धि भई रु. १.८५ अर्व पुगेको छ ।

यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५८.० प्रतिशतले ह्रास आई रु. १.३४ अर्व, पोलिष्टर तथा अन्य धागोमा ३७.३ प्रतिशतले ह्रास आई रु. १.११ अर्व, मुसुरोको दालमा ७४.६ प्रतिशतले ह्रास आई रु १५ करोड पुगेको छ ।

उक्त अवधिमा रु. १५ करोड छाला, रु. १.०१ अर्वको अलैंची, रु. ६२ करोडको चिया, रु. १२ करोडको अदुवा, रु. ८ करोडको चाऊचाऊ, रु. ७ करोड जडिवुटी, रु. १८ करोडको टुथपेष्ट, रु. १.१५ अर्वको टेक्सटाइल, रु. ८३ करोड पश्मिना सल, रु. ३२ करोडको हस्तकलाका सामानहरु, रु. १९ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, जापान, फ्रान्स, इटाली, चीन, क्यानडा, टर्की, नेदरलेण्ड्स, वंगलादेश, अष्ट्रेलिया र स्वीट्जरलेण्ड आदि प्रमुुख रुपमा रहेका छन् ।

पैठारीतर्फ, आ.व. २०७२÷७३ को प्रथम तीन महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा २०.२ प्रतिशतले ह्रास आई रु. १५.१४ अर्ब, पेट्रोलियम पदार्थमा ५७.८ प्रतिशतले ह्रास आई रु. १३.३८ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा ३५.१ प्रतिशतले ह्रास आई रु. ८.९७ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ४१.३ प्रतिशतले ह्रास आर्ई रु. ५.०४ अर्ब, औषधीमा ३३.८ प्रतिशतले ह्रास आई रु. ३.२६ अर्ब, मशिनरी तथा पार्ट्समा २९.६ प्रतिशतले ह्रास आर्ई रु. ८.०९ अर्ब, पोलिथिन ग्रेन्युल्समा ३४.९ प्रतिशतले ह्रास आई रु. ३.०३ अर्ब, कच्चा पाम आयलमा ४०.३ प्रतिशतले ह्रास आई रु. ७९ करोड , दुरसञ्चारका सामाग्रीहरुमा २.८ प्रतिशतले वृद्धि भई रु. ६.०० अर्ब, रसायनमा ३२.३ प्रतिशतले ह्रास आई रु. १.५५ अर्ब भएको छ ।

यसैगरी रु. ३.७६ अर्ब बराबरको सुन, रु. २.९७ अर्व बराबरको चाँदी, रु. २.२६ अर्ब बराबरको रासायनिक मल तथा रु. १.२६ अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् ।

साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (रु. ६४ करोड ), भटमासको कच्चातेल ( रु. २.२५ अर्व ), तयारी पोशाक ( रु. ३.४१ अर्व ), अन्न ( रु. ५.८३ अर्व ), ऊन ( रु. ८० करोड ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, इण्डोनेशिया, अर्जेन्टिना, टर्की, थाइलेण्ड, क्यानडा, जापान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, स्वीट्जरलेण्ड, मलेशिया र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

नेपालको निर्यात गन्तव्यहरु मध्ये भारततर्फको निर्यातमा एकतिहाई भन्दा बढी ह्रास आएको हुनाले समग्र निकासीमा ह्रासोन्मुख स्थिति देखिएको छ ।

यसै गरी आयाततर्फ पनि समीक्षा अवधिमा भारतबाट हुने आयातमा पनि एकतिहाई भन्दा बढीले तथा अन्य प्रमुख श्रोत मुलुकबाट पनि उल्लेख्य रुपमा आयातमा ह्रास आएको देखिन्छ ।

परिणामतः आर्थिक वर्ष २०७२/७३ को प्रथम तीन महीनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.५ प्रतिशतले ह्रास आई नेपालको कुल व्यापारघाटा रु. ११३.८५ अर्वमा सीमित हुन गएको छ ।

चालु आर्थिक वर्षको प्रथम तीन महीनाको मासिक व्यापार तथ्याँकलाई अध्ययन गर्दा साउनमा रु ६२.०८ अर्व आयात भएकोमा भदौ र असोजको आयात भने क्रमशः रु ४४.२२ अर्व र रु. २४.३८ अर्व मा झरेको छ ।

भारतको नाकाबन्दीका कारण विभिन्न नाकाहरुबाट हुने वैदेशिक व्यापार प्रभावित भई देशको निकासी पैठारीमा उल्लेख्य ह्रास आएको हो ।

भारततर्फको निर्यात व्यापारमा उल्लेख्य कमी आए पनि तेस्रो मुलकतर्फको निकासी व्यापारमा खासै ठूलो उतारचढाव देखिएको छैन ।

तर आयाततर्फ भने भारत लगायत तेस्रो मुलुकबाट हुने पैठारीमा पनि उल्लेख्य रुपमा ह्रास आएको छ ।

समीक्षा अवधिमा पेट्रोलियम पदार्थ लगायत औद्योगिक कच्चापदार्थ , मशिनरी, यातायातका साधनहरु तथा खाद्यान्नको आयातमा भारी गिरावट आएको देखिन्छ ।

यसका साथै विनाशकारी भूकम्पका कारणले चीनतर्फको प्रमुख भन्सार विन्दूमा दुवैतर्फको सडक यातायातमा अवरोध सिर्जना भई नेपालको चीनतर्फ हुने निर्यात तथा आयात व्यापारमा पनि ह्रास आउँदा नेपालको चीनसँगको व्यापार पनि प्रभावित भएको देखिन्छ ।

उपरोक्त अवस्थाका बावजुद पनि तयारी पोशाक, उनी गलैंचा, अलैंची, फेल्टका उत्पादनहरुको निर्यातमा वृद्धिको अवस्था आउनुले नेपालको निर्यात व्यापारलाई थप ह्रासोन्मुख हुनबाट जोगाएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>