थप समाचारशुक्रबार, मंसिर ४, २०७२
मधेश: पर्सादेखि सप्तरीसम्म
मधेशी मोर्चाको आन्दोलनका कारण गत तीन महिनादेखि २ नम्बर प्रदेश अन्तर्गतका सप्तरीदेखि पर्सासम्मका सबै ८ जिल्लाका अधिकांश विद्यालय क्याम्पसहरु बन्द छन् । मोर्चाको ३ मंसीरको बैठकले मधेशका विद्यालय–क्याम्पसहरु विहानको समयमा सञ्चालन गर्न दिने भने पनि बन्द रहेका विद्यालयहरु शुक्रबार ४ मंसीरमा पनि खुल्न सकेनन् ।
मोर्चाले आन्दोलन कडा पार्ने निर्णय गरेसँगै आज पर्साको वीरगञ्ज, रौतहटको गौर, सप्तरीको राजविराज, भारदाह र धनुषाको जनकपुर केही अशान्त रहे ।
पर्साः पर्सा जिल्लामा विगत तीन महिनादेखि बन्द विद्यालय–क्याम्पसहरु आज पनि खुल्न सकेनन् । आज शुक्रबार भएकाले केही विद्यालयहरु आइतबारदेखि खुल्ने अपेक्षा राखिएको वीरगञ्जका पत्रकार सुरेश विडारी बताउँछन् ।
यद्यपी सार्वजनिक सवारी साधनसाथै स्कुल बसहरु समेत चल्न रोक लगाएका बेला त्यो पनि जाडोको समयमा विहानै विद्यार्थीहरु आउन असहज हुने अभिभावकहरुको भनाई छ ।
वीरगञ्जमा गए राति १ बजे औषधि लोड गरिएको ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताले आगजनी गर्दा करिब २० लाख मूल्य बराबरको औषधी जलेर नष्ट भएको छ । उक्त औषधि जनकपुर लैजानका लागि लोड गरिएको थियो ।
त्यसैगरी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज पथलैया सडक खण्डमा मकै बोकेको ट्रकमा पनि आगजनी गरेका छन् ।
वीरगञ्जकै माइस्थानमा ना ७ प १८१६ नम्बरको मोटरसाइकलमा पनि तोडफोड भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको आदर्शनगरस्थित कार्यालयमा आगजनी भएको छ । बैंकमा आगजनी गरिए पनि समयमै निभाइएकाले ठूलो क्षति हुन पाएन ।
पर्सामा मोटरसाइकल, रिक्सा र टाँगा बाहेकका सवारी साधन चलेका छैनन् । छठको अवसरमा खुलेका पसलहरु पनि बन्द गराइएका छन् ।
बाराः बाराको सीमरा, जीतपुर, निजगढ अमलेखगञ्ज बजारहरुमा मोर्चाको आन्दोलनको खासै असर परेको छैन । विद्यालय, पसल र यातायात खुला छन् ।
सदरमुकाम कलैया र दक्षिणी क्षेत्रका बजारहरु भने बन्द छन् । दक्षिणी क्षेत्रमा मोटरसाइकल र रिक्सा बाहेकका सवारी साधन चलेका छैनन् । विद्यालय, क्याम्पस भने विहानको समयमा चलिरहेका छन् ।
रौतहटः रौतहटको सदरमुकाम गौरमा मोर्चाको निर्णयपछि आज विद्यालय खुले पनि कक्षा सञ्चाल भएको छैन । विद्यालयहरुले सूचना जारी गरी आइतबार विहानदेखि कक्षा सञ्चाल गर्ने जनाएका छन् ।
रौतहटको चन्द्रपुरमा भने विद्यालयहरु विहानको समयमा पहिलेदेखि नै चलिरहेका छन् । चन्द्रपुर नगरपालिकामा बजार र यातायात सञ्चालन भए पनि सदरमुकाम गौरमा भने मोटरसाइकल समेत चल्न दिइएको छैन ।
जिल्लाको सम्पूर्ण दक्षिणी क्षेत्र ठप्प छ ।
आज मोर्चाका कार्यकर्ताहरुले गौरमा सञ्चारकर्मीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् । उनीहरुले पत्रकार सञ्जय सहनीको मोटरसाईकल तोडफोड गरेका हुन् ।
सर्लाहीः सर्लाहीको राजमार्ग क्षेत्रका बजारहरु नवलपुर, लालबन्दी, हरिऔनमा आन्दोलनको असर परेको छैन तर, सदरमुकाम मलंगवा लगायत जिल्लाका दक्षिणी बजारहरु भने बन्द छन् ।
जिल्लाका दक्षिणी क्षेत्रका विद्यालयहरु सञ्चालनमा रहे पनि विद्यार्थीहरु पोशाक नलगाएरै स्कुल गइरहेका छन् । विद्यालय र क्याम्पसहरु विहान ६ बजेदेखि साढे १० बजेसम्म सञ्चालन भइरहेको पत्रकार विश्वनाथ ठाकुरले जानकारी दिए ।
आज मोर्चाका कार्यकर्ताहरुले सर्लाहीको बरहथवामा एउटा ट्रकमा आगजनी गरे भने मलंगवास्थित जिल्ला सिंचाई कार्यालयमा गए राति आगो लगाएका थिए ।
कार्यालय सहायकलाई नियन्त्रणमा लिई पेट्रोल छर्केर आगो लगाउँदा कार्यालयका झ्याल ढोका र केही फर्निचरमा क्षति पुगे पनि समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्लाको उत्तरी र राजमार्ग क्षेत्रमा सक्रिय चुरेभावर पार्टीले शनिबार हरिऔनमा आमसभा गर्दै छ । ०६३ मा सरकारले आफूसँग गरेको ९ बुँदे सम्झौता अनुसार चुरेभावर प्रदेश स्थापना गरिनुपर्ने माग राख्दै आन्दोलन चर्काउने चुरेभावरले जनाएको छ ।
हरिवनमा चुरेभावरको आमसभा गर्ने कार्यक्रम सँगै मोर्चाले नवलपुरमा राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम छ । दुवैपक्षको मुठभेड हुनसक्ने भन्दै स्थानीय वासिन्दा त्रासमा छन् ।
मोर्चाको आन्दोलनको विरोध गरिरहेको चुरेभावरले केही दिनमै पर्साको पथलैयादेखि महोत्तरीको बर्दिवासमा मोटरसाइकल र्याली गर्ने जनाएको छ ।
धनुषाः धनुषका अधिकांश विद्यालय–क्याम्पसहरु मोर्चाले आन्दोलन शुरु गरेदेखि नै बन्द भए पनि जिल्लाको उत्तरी क्षेत्रका विद्यालयहरु भने खुलै छन् ।
दक्षिणी क्षेत्रका केही विद्यालयहरुमा १० कक्षा मात्रै सञ्चालन भइरहेको छ । विद्यार्थीहरु पोशाक नलगाएरै विद्यालय जाने गरेका छन् । यातायात सञ्चालनमा छैन । पसलहरु बन्द छन् । भोलीदेखि मोर्चाले मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएको छ ।
सदरमुकाम जनकपुर लगायतका दक्षिणी क्षेत्रका विद्यालयहरु आइतबारबाट विहान ६ः३० देखि ११ बजेसम्म सञ्चालन गरिने प्याब्सनले जनाएको छ ।
सिरहा: सिरहामा यातायात र पसलहरु पूर्णरुपमा ठप्प छन् । मोटरसाइकल र रिक्साहरु भने चलेका छन् । विद्यालयहरु विहानको समयमा सञ्चालनमा छन् ।
यसअघि दिउँसोको समयमै सञ्चालनमा रहेका विद्यालयहरु मोर्चाको विहानमात्रै खोल्ने निर्णयको प्रभावले वन्द हुने हुन् कि भन्ने त्रास अभिभावकमा छ ।
विद्यार्थीहरु पोशाक नलगाएर विद्यालय जाने गरेका छन् । सार्वजनिक र स्कुल बसहरु पनि चलेका छैनन् ।
महोत्तरीः महोत्तरीमा विद्यालय, क्याम्पस तीन महिनादेखि ठप्प छन् । शुक्रबार केही विद्यालयका कार्यालयहरु खुले पनि कक्षा सञ्चालन भएको छैन ।
सार्वजनिक यातायात र स्कुल बस नचल्ने र दिनहुँ जुलुश प्रदर्शन भइरहने अवस्थामा विद्यालय खोल्ने वा नखोल्ने भन्नेमा विद्यालयहरु अझै असमञ्जसमा छन् । आइतबारदेखि केही विद्यालयहरु खुल्ने अपेक्षा गरिएको छ ।
जिल्लाका बर्दिबास लगायतका राजमार्ग क्षेत्र बाहेकका सम्पूर्ण जिल्लामा यातायात, पसल, कलकारखाना तीन महिनादेखि ठप्प छन् ।
सप्तरीः सप्तरीमा यातायात र पसलहरु पूर्णरुपमा ठप्प छन् । मोटरसाइकल र रिक्साहरु भने चलेका छन् ।
सामुदायिक विद्यालयहरु खुलेका छैनन् । निजी विद्यालयमा भने विद्यार्थीहरु पोशाक नलगाएर विद्यालय जाने गरेका छन् । सार्वजनिक र स्कुल बस नचल्दा टाढा घर भएका विद्यार्थीहरु विद्यालय नजिकै डेरा गरेर बसेका छन् ।
सप्तरीको राजविराज, भारदह, रुपनीमा दैनिक जुलुश भइरहेको छ ।
शनिबार साँझदेखि राजमार्ग अन्तर्गतका भारदह, रुपनी, कल्याणपुर र कदमाहामा मधेशी मोर्चाले धर्ना दिएर राजमार्ग ठप्प पार्ने कार्यक्रम छ ।
यसअघिका धर्नामा ठूलो तनाव ब्यहोरेका स्थानीय फेरि प्रहरी र प्रदर्शनकारीको मुठभेड भई अप्रिय अवस्था आउने हो कि भन्ने चिन्तामा छन् ।
सप्तरीका बजारमा खाने तेल लगायत खाद्द वस्तुहरु पाइन छोडेको छ । सम्पूर्ण जिल्ला भारतीय बजारमा भर परेको छ । अहिले नेपालीहरुको भीडले गर्दा भारतीय बजारमा पनि सामानको भाउ बढेको स्थानीय बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
