समाचारशुक्रबार, मंसिर ४, २०७२
विद्यालय जाँदा यातायात प्रयोग गर्न नदिने मोर्चाको निर्णय
मधेशी मोर्चाका चार जिल्लाका प्रमुखहरुको जनकपुरमा भएको बैठकले राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउन धर्ना दिने निर्णय गरेको छ ।
जनकपुरमा ४ मंसीरमा बसेको सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला नेताहरुको बैठकले ५ मंसीरदेखि राजगमार्गमा अवरोध गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले इन्धनको तस्करी रोक्न तस्करीमा प्रयोग भएको सवारी साधनसहित इन्धन जलाएर नष्ट गर्ने बताएको छ ।
व्यक्तिगत प्रयोजनका लागि बाहेक मोटरसाइकल चलाउन समेत नदिने मोर्चाले निर्णय गरेको छ ।
स्कुलहरु विहान ११ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको मोर्चाले स्कुल जानका लागि सवारी साधनको प्रयोग भने गर्न नपाइने जनाएको छ ।
साथै मोर्चाको आन्दोलनप्रति सबै स्कुलले ऐक्यवद्धता प्रकट गर्नका लागि गेटमा कालो झण्डा राख्नु पर्ने पनि मोर्चाले उर्दी जारी गरेको छ ।
आम हडतालका बेला राजमार्गमा रात्रीबस समेत सञ्चालन गर्न नपाइने भन्दै अटेरी गरेर चलाए त्यसबाट हुने क्षतिको जिम्मेवार चलाउनेवाला आफैं हुनुपर्ने मोर्चाले धम्की दिएको छ ।
यसैगरी सदभावना अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा मोर्चाको वीरगञ्जमा बसेको स्थानीय नेताहरुको बैठकले पनि माथिकै जस्तो निर्णय गरेको छ ।
मोर्चा पर्साले विद्यार्थीहरुलाई पोशाक नलगाएरै विद्यालय आउनुपर्ने समेत भनको छ ।