रमझमशुक्रबार, मंसिर ४, २०७२

फिल्म साउथएशियामा राज्यले नरुचाएका वृत्तचित्रहरु

हिमालखबर

दक्षिण एशियाली वृत्तचित्र महोत्सवमा सरिक निर्देशकहरु दायाँबाट क्रमशः इफात फातिमा, सञ्जय काक र नकुलसिंह सावनी

दक्षिण एशियाली वृत्तचित्र महोत्सवमा सरिक निर्देशकहरु दायाँबाट क्रमशः इफात फातिमा, सञ्जय काक र नकुलसिंह सावनी

राजनीतिक हिंसाले सिंगो दक्षिण एशिया प्रभावित रहेको बेला निष्पक्ष वृत्तचित्र बनाउनु कत्तिको जोखिमपूर्ण हुन्छ ?

यतिबेला राजधानीमा चलिरहेको दक्षिण एसियाली वृत्तचित्र महोत्सवका केहि फिल्म यस्तै जोखिम मोलेर तयार भएका छन् ।

भारतमा राज्य वा सत्तासीन राजनीतिक दलसँग सोझै यस्तो टक्कर लिएर तयार भएका तीनवटा वृत्तचित्रका निर्देशकहरु यतिबेला राजधानी आइपुगेका छन्, जसका सिनेमालाई उनीहरुकै मुलुक भारतमा निर्वाध रुपले प्रदर्शन गर्न यतिबेला मुश्किल परिरहेको छ ।

शुक्रबार प्रदर्शित ‘मुजफ्फरनगर बाँकी है’ हेर्नका निम्ति दर्शक जम्मा भएकै कारण सम्पूर्ण टिकट विक्री भएको थियो ।

फेरि पनि हेर्न चाहने दर्शकका निम्ति यो वृत्तचित्र पुनः प्रदर्शनको सूचना जारी भइसकेको छ ।

‘निर्माणकै क्रममा पटक पटक अवरोध झेल्नु परेकाले यो तयार पार्नकै निम्ति मलाइ डेढ वर्ष लाग्यो’ वृत्तचित्रका निर्देशक नकुलसिंह सावनी भन्छन्,‘त्यसपछि भारतमा बारंबार प्रदर्शनका बेला सत्ताधारी दलका नजिक रहेको संगठनहरुले कार्यक्रम नै विथोल्दै आइरहेका छन् ।’

तै पनि अहिलेसम्म सयभन्दा बढी प्रदर्शन भइसकेको र भारत बाहिर आफ्नो उपस्थितीमा पहिलोपटक फिल्म साउथएशियामा प्रदर्शन गरिएको उनले स्पष्ट पारे ।

महोत्सवमा नकुलको वृत्तचित्र मात्र होइन, भारतको संस्थापनबाट संभावित खतरा मोलेरै तयार भएको अर्का दुई वृत्तचित्र पनि छन् ।

भारतमा माओवादी विद्रोहको भित्री तहसम्म पुगेर तयार पारिएको ‘रेड एन्ट ड्रिम’ र काश्मीरमा भइरहेको मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा आधारित ‘ब्लड लिभ्स इट्स् ट्रेल’ साहसिक निर्माणको नमूनाका रुपमा प्रस्तुत भएका छन् ।

यी दुवै वृत्तचित्र महोत्सव अन्तर्गत पाटनको यलमाया केन्द्रमा शनिबार प्रदर्शन हुँदैछन् ।

महोत्सवकै निम्ति ‘रेड एन्ट ड्रिम’का निर्देशक सञ्जय काक र ‘ब्लड लिभ्स इट्स् ट्रेल’की इफात फतिमासमेत यतिबेला राजधानी छन् ।

छत्तिसगढका माओवादी, उडिसाका आदिवासी र पञ्जाबका प्रदर्शनकारीले कसरी चीनियाँ साँस्कृतिक क्रान्तिका नेताको विरासतलाई भारतमा धानिरहेका छन् भन्ने रोचक जानकारी दिने काकको वृत्तचित्र दुइ घन्टा लामो छ ।

त्यसैगरि काश्मीरमा सर्वसाधारणमाथि राज्यका तर्फबाट भइरहेको दमनका भयावह दृश्य फातिमाको डेढ घन्टा लामो वृत्तचित्रले प्रस्तुत गर्छ ।

राजनीतिक हिंसा र वृत्तचित्र
यसरी सिंगो दक्षिण एसियामा राजनीतिक हिंसा चलिरहेको बेला बृत्तचित्र निर्माताहरुले के कस्ता व्यवधान भोग्नु परिरहेको छ भन्ने विषयमा शनिबार विहान ११ बजे महोत्सव स्थलमै एक छलफल कार्यक्रमसमेत आयोजना गरिएको छ ।

फिल्म साउथएशियासँगै मिलेर यसपाला ‘इण्डिपेन्डेन्ट फिल्म मेकर्स एशोसिएशन’ले चलाइरहको समानान्तर कार्यक्रमकै निरन्तरताको रुपमा यसको आयोजना हुन लागेको हो ।

भारतका तीन निर्देशकहरु नकुलसिंह सावनी, सञ्जय काक र इफात फातिमा सहित नेपालमा ‘जोगिमाराका ज्यूँदाहरु’ बनाउने मोहन मैनालीसमेत यो छलफलमा सामेल हुँदैछन् ।

यो छलफल कार्यक्रमलाई फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षितले मध्यस्थता गर्नेछन् ।

निःशुल्क सहभागिताको व्यवस्था मिलाइएको यो कार्यक्रम सबैका निम्ति खुला रहेको जानकारी एशोसिएसनका अध्यक्ष अनुप सुवेदीले बताएका छन् ।

महोत्सव अन्तर्गत शुक्रबार १५ वृत्तचित्र देखाइएका थिए । तीमध्ये ‘मुजफ्फरनगर बाँकी है’ बाहेक ‘अन एण्ड अफ द रेकर्ड्स्’का निर्देशक प्रतिक विश्वास, बंगलादेशको ‘विषकान्त’का निर्देशक फरजाना बबी र ‘ब्रिफ लाइफ अफ इन्सेक्ट्स्’का निर्देशक तरुण भारतीयले स्वयं महोत्सवमा सरिक रहेर आफ्नो फिल्म प्रस्तुत गरेका थिए ।

महोत्सव अन्तर्गत शनिबार १२ वृत्तचित्र देखाइनेछन् । त्यसमध्ये सञ्जय र फातिमाका बाहेक ‘जापान इन नागाल्याण्ड’का निर्देशक हेमन्त गाबा, ‘कोटीवाले सुपरस्टार’का निर्देशक अनुज अडलाखा, ‘सिटिज अफ स्लिप’का निर्देशक शौनक सेन र नेपालकै ‘ड्रविङ द टाइगर’की निर्देशिकाद्वय रम्यता लिम्बु र एमी बेनसन स्वयं उपस्थित भएर आफ्ना सिर्जना प्रस्तुत गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>