समाचारशनिबार, मंसिर ५, २०७२

आन्दोलन समाधान गर्न प्रमुख दलहरु सहमत

हिमालखबर

12227679_10206890260128296_3716819493890674533_nसत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई–मधेशमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन् ।

सिंहदरबारमा भएको द्विपक्षीय छलफलमा तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न ती दल एकमत भएका हुन् ।

नेपाली कांग्रेसले आयोजना गरेको छलफलमा वार्तालाई परिणाममुखी बनाउने र व्यवस्थापिका–संसद्मा दर्ता भएको ‘संविधान संशोधन विधेयक’ र ‘पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक’लाई तत्काल पारित गरेर जाने विषयमा समेत कुराकानी भएको थियो ।

सबै पक्षले पार्टीभित्र एकसरो छलफल गरेर तराई मधेसको समस्यालाई सार्थक निष्कर्षमा पु¥याउनुपर्ने र समस्या लामो समय राख्न नहुनेमा मतैक्य भएको बैठकपछि नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेशको आन्दोलन, नेपाल–भारत सीमामा भइरहेको नाकाबन्दी र आपूर्ति व्यवस्थापनमा भएको समस्याबारे बैठक केन्द्रित रहेको बताए ।

मूल समस्यालाई समाधान गर्न सत्तारुण् र प्रमुख प्रतिपक्षी दलबीच साझा धारणा बनाउन सौर्हाद्रपूर्ण वातावरणमा छलफल भएको र प्रमुख दलहरुबीच पनि समान धारणा हुनुपर्छ भन्नेमा बैठकमा महत्वपूर्ण छलफल भएको उनले बताए ।

उनले भने, “तराई–मधेशको आन्दोलन र नाकाबन्दीबाट सिर्जिएको अवस्थाबारे साझा धारणा बनाउन आवश्यक छ भन्ने विषयमा कुरा अगाडि बढेको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्ने र छिट्टै अर्को बैठक बस्ने सहमति भएको छ । सबै पक्षमा समस्याको निरुपण गर्नुपर्नेमा मतैक्य देखिएको छ ।”

अत्यावश्यकीय सामग्रीको आयातमा कुनै अवरोध नगर्ने भन्ने मोर्चाको निर्णय आएपनि औषधि, इन्धन आपूर्तिमा अवरोध भइरहेकाप्रति आन्दोलनरत पक्ष गम्भीर रहेको आफूले पाएको बताउँदै अध्यक्ष दाहालले ट्रक, एम्बुलेन्समाथि भएको प्रहारसमेत अमानवीय भएको स्पष्ट पारे ।

उनले भने, “सकेसम्म यो समस्यालाई छिटो टुङ्ग्याउने पक्षमा हामी छौँ । प्रमुख तीन दल समस्या समाधानमा प्रतिबद्ध भएर लाग्ने सहमति भएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>