समाचारशनिबार, मंसिर ५, २०७२
सुनसरीको दुहबीमा दुईपक्षबीच झडप
सुनसरीको दुहबीमा झापा मोरङ र सुनसरी टुक्राउन पाइँदैन भन्नेहरु र मधेशी मोर्चाबीच झडप भएको छ ।
सुनसरी मोरङ र झापालाई समेत मिलाएर मधेश प्रदेश बनाउनुपर्ने मधेशी मोर्चाको मागको विरोधमा र्याली र सभाको आयोजना गरेको नागरिक संघर्ष समिति र मधेशी मोर्चाबीच मुठभेडको स्थिति भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।
५ मंसीर दिउँसो र्यालीको तयारी गरिरहेको पक्षमाथि मधेशी मोर्चाका कार्यकर्ताले आक्रमण गरी केही मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।
दुवैपक्षबीच झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड हवाई फायर समेत गरेको छ ।
तोडफोडमा संलग्न आन्दोलनका संयोजक मुन्ना साह र संघीय समाजवादी फोरम युवा नेता रञ्जीत गोस्वामीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारीले बताए ।
तनावका बीच सुनसरी टुक्राउन पाइँदैन भन्ने पक्षधरहरुको र्याली र कोणसभा सम्पन्न भएको छ ।
संभावित भिडन्तलाई ध्यानमा राखी दुहबीमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।