समाचारशनिबार, मंसिर ५, २०७२
नेपालमाथिको नाकाबन्दी तत्काल हटाऊः भारतीय फिल्म निर्माताहरु
राजधानीमा जारी वृत्तचित्र महोत्सवमा सहभागी भारतीय फिल्म निर्माताले नेपालमाथि गरिएको नाकाबन्दी फिर्ता गर्न भारत सरकारसँग माग गरेका छन् ।
फिल्म साउथ एशियामा सहभागी हुन भारतबाट आएका निर्माताहरुले राजधानीमा नाकाबन्दीको प्रभाव प्रत्यक्ष अनुभव गरेपछि ५ मंसीरमा विज्ञप्ति जारी गर्दै भारतको नाकाबन्दीका कारण नेपालीको दैनिकी कष्टकर बनेको, अत्यावश्यक औषधिको अभाव भएको, नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाकाबन्दी अन्त्य गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा ६ महिनाअघिको भूकम्पले जर्जर बनाएको नेपाली अर्थतन्त्रलाई दुई महिनादेखि भारतले लगाएको नाकाबन्दीले थप थिलोथिलो बनाएको, उद्योग–व्यवसाय धराशायी पारेको उल्लेख छ ।
उनीहरुले भारतीय नागरिकको हैसियतमा भारत सरकार र अन्तर्राष्ट्रिय समुदायलाई नाकाबन्दीको समस्या छिटो समाधान गर्न आग्रह गर्दै अगाडि भनेका छन्, “सार्वभौम राष्ट्र नेपालले आफ्ना आन्तरिक समस्या आफैं समाधान गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं ।”
विज्ञप्ति जारी गर्ने फिल्म निर्मातामा दीप्ति मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह सावनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायत छन् ।