समाचारआइतबार, मंसिर ६, २०७२

प्रहरीको गोलीबाट सप्तरीमा दुई जनाको मृत्यु, कर्फ्यू लगाइयो

हिमालखबर

सप्तरीमा भएको झडपका घाइते ।

सप्तरीमा भएको झडपका घाइते ।

सप्तरीको भारदह र रुपनीमा राजमार्गमा अवरोध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ भने करिब २५ जना घाइते भएका छन् ।

राजमार्ग केन्द्रित आन्दोलन शुरु गरेको मधेशी मोर्चाले ५ मंसीर साँझदेखि सप्तरीको भारदह, रुपनी, कल्याणपुर र कदमाहामा राजमार्ग अवरुद्ध पार्न ठूलो संख्यामा कार्यकर्ता उतारेको थियो ।

राजमार्ग खुलाउन खोज्ने प्रहरी र अवरोध गर्ने प्रदर्शनकारीबीच सप्तरीको भारदहमा गए राति झडप हुँदा राति करिब १२ बजे प्रहरीको गोली लागेर डाढा गाविस ५ बलिया टोलका १५ वर्षीय बिरेन रामको मृत्यु भएको छ ।

त्यस्तै रुपनीमा जमुनी मधेपुरा गाविस ९ का २८ वर्षीय नागेश्वर यादवको पनि प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

भारदहमा प्रहरीको गोलीबाट डाढाको बलिया टोलकै अकबर, डिमन गाविसका ५० बर्षीय जहरु साह, पोर्ताहा गाविसका श्रवण झा, पोर्ताहा गाविसकै राजेश खिडहरी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का जिल्ला अध्यक्ष दानी मण्डलसहितका घाइते भएका छन् ।

यस्तै रुपनीमा राजविराज ३ का मधेशी मोर्चाका नगर समिति संयोजक उमेश प्रसाद साह ‘कमाण्डो’, जमुनी मधेपुरा गाविसका जिबछ यादव, इटहरी बिष्णुपुर गाविसका ४० वर्षीय शत्रुधन राय, लालापट्टी गाविसका जयकिशोर यादव, कोचाबखारीका फुलेश्वर मण्डल र श्याम मण्डल, रायपुर गाविसका दिनेश यादव, कोइलाडी मधेपुरा गाविसमा प्रमोद यादव घाइते भएका छन् ।

त्यसैगरी रुपनीमै गोली लागि जमुनी मधेपुरा २ का ५५ बर्षीय अमरेन्द्र झा, सिम्राहा सिंग्यौन गाविसका ५९ वर्षीय अगहनु यादव, छिन्नमस्ता गाविस ९ का ४० बर्षीय रामचन्द्र यादव, राजविराज ६ का भुवनेश्वर बेलचन, तथा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका नेता रामगमन साह पनि घाइते भएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

जिल्लाको तीन ठाउँमा कर्फ्यू
यसैबीच स्थानीय प्रशासनले जिल्ला सदरमुकाम राजविराज, भारदह र रुपनीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

राति १ बजे बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय अनुसार भारदहको पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्व, पश्चिममा महुली पुलसम्म, उत्तरमा पोर्ताहा गाविस भवनदेखि ५ सय मिटरसम्मको इलाका र दक्षिणमा सकरदही नहरको कल्भर्टसम्म कर्फयू आदेश जारी गरिएको छ ।

रुपनीमा राजमार्ग खण्डको रुपनी चोकदेखि उत्तर दक्षिण ५ सय मिटर दायाँ, बायँको क्षेत्र, पूर्वमा जगमोहन चोकसम्म तथा पश्चिममा शम्भुनाथ चोकसम्म कर्फयू आदेश जारी गरिएको छ ।

त्यसैगरी सदरमुकाम राजविराजको पूर्वपट्टी नगर प्रहरी कार्यालय राधाकृष्ण मन्दिर हुँदै जिल्ला प्रशासन कार्यालयको सडक खण्ड र सगरमाथा अंचल प्रहरी कार्यालय जाने बाटोको चोकसम्म कर्फयू आदेश जारी गरिएको छ ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>