समाचारआइतबार, मंसिर ६, २०७२
सप्तरीः प्रहरी बिट र भ्यान जलाइयो, पुल भत्काइयो
सप्तरीको राजविराजमा विहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चाका नेता-कार्यकर्ताहरुले प्रहरी बिटमा आगजनी गर्नुका साथै भ्यानमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले बरमझिया नजिकको पुल पनि भत्काइदिएका छन् ।
प्रदर्शनकारीले सगरमाथा अञ्चल अस्पताल अगाडि रहेको ना.१ज १३१६ नम्बरको प्रहरी भ्यानमा आगो लगाएका हुन् । आगोले भ्यानको पछाडिको भाग पूर्ण रुपमा जलेको छ ।
त्यसैगरी उनीहरुले रुपनी रोडमा रहेको सशस्त्र प्रहरीको अस्थायी प्रहरी बिटमा आगो लगाएका छन् भने बरमझिया नजिक सुन्दरी खोलाको पुलमा क्षति पुर्याएका छन् । पुल भत्काउँदै गरेकाले प्रहरीले हस्तक्षेप गरी भगाएको थियो । उक्तपुल अहिले एकतर्फी मात्रै चालु छ ।
विहानैदेखि रुपनीमा कफ्र्यू तोडेर प्रदर्शन भइरहेको छ । अहिले पनि रुपनीमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।
राति १२ बजे भएको झडपमा रुपनी र भारदहमा एक–एक जनाको मृत्यु र केही घाइते भएपछि स्थानीय प्रशासनले रुपनी, भारदाह र राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरे पनि कर्फ्यू तोडेर मोर्चाले प्रदर्शन जारी राखेको हो ।
राजविराजमा प्रहरी भ्यानमा आगजनी भएपछि आक्रोशित प्रहरीले अस्पताल हाताभित्र प्रवेश गरी तीन जना कर्मचारीहरुलाई कुटपिट गरेको छ ।
कर्मचारीहरु विश्वनाथ मण्डल, जयनाथ साह र अर्का एक जनालाई प्रहरीले लाठी प्रहार गरेको हो । उनीहरुको सोही अस्पतालमै उपचार भइरहेको छ ।
श्रवणकुमार देव, सप्तरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
