समाचारआइतबार, मंसिर ६, २०७२
थारु समुदायका लागि विशेष क्षेत्र हुन्छ: उपप्रधानमन्त्री रावल
उप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले कैलाली र कञ्चनपुरका थारु समुदायका लागि विशेष क्षेत्र बनाइने बताएका छन् ।
६ मंसीरमा पत्रकारसँग कुराकानी गर्दै उप्रधानमन्त्री रावलले अहिले विवादमा रहेका पश्चिमका कैलाली र कञ्चनपुर जिल्ला कहाँ राख्ने भन्दा पनि यहाँ रहेका थारु समुदायको हक र अधिकार सुरक्षित गर्नु जरुरी रहेको बताए ।
‘‘कैलाली कञ्चनपुरका थारु समुदायका लागि विशेष क्षेत्र हुन्छ । संघीय कानूनमा विशेष व्यवस्था गरिनेछ’’ उनले भने । उनले थारु आयोग धेरै कुरा समेट्ने भन्दै त्यस बाहेकका कुरा वार्ता र छलफलका माध्यमबाट सुल्झाउन सरकार तत्पर रहेको बताए ।
एमाले कार्यकर्ता प्रशिक्षण भेलाका लागि महेन्द्रनगर पुगेका रावलले संघीय प्रणालीलाई केही व्यक्तिहरुले विकृत बनाउन खोजेको आरोप लगाए । ‘‘संघीय प्रणाली टुटाउन र फुटाउन होइन, मिलाउन र एक बनाउनका लागि हो’’ उनले भने ।
हक अधिकारका लागि गरिएको आन्दोलन एम्बुलेन्स तोडफोड, विरामी र घाइते कुटपिट तर्फ मोडिएको भन्दै उनले सीमा पारीबाट ढुङ्गा हान्नेहरुलाई नछोडिने बताए ।
‘‘सरकार राजनीतिक कुरालाई वार्ताका माध्यमबाट र अपराधिक कुरालाई कानूनि तवरबाट समाधान गर्ने तयारी गरिरहेको छ’’ रावलको भनाई थियो ।
बच्चु विक, महेन्द्रनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
