थप समाचारआइतबार, मंसिर ६, २०७२
सप्तरीमा दिनभर के–के भयो ? (अपडेट)
प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएपछि दिनभर सप्तरी तनावपूर्ण रह्यो ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा निस्किएका आन्दोलनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भयो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा घरमा बसिरहेका एक सर्वसाधरणको मृत्यु समेत भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजमार्ग केन्द्रित आन्दोलन सशक्त बनाएपछि ५ मंसीर राति प्रहरीसँगको झडपमा डाढा–५, का १५ वर्षीय बिरेन राम र रुपनीमा जमुनी मधेपुरा गाविस–९, का नागेश्वर यादवको मृत्यु भएको थियो ।
प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएपछि कर्फ्यू उङ्घन गर्दै प्रदर्शन भएपछि प्रहरीले गोली चलाउदा ६ मंसीर साँझ राजविराज–१, स्थित ३० वर्षीय दिलिपकुमार साहको मृत्यु भएको छ । घरको छतमा बसिरहेका उनको टाउकोमा गोली लागेको थियो ।
उनीसँगै बसिरहेका ५ वर्षीय नाति मुस्कान साहको पनि हातमा गोली लागेको छ । यसपछि साँझ अवेरसम्म सदरमुकाम राजविराजमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रहरीले राजविराजकै जनआन्दोलन चोंकमा प्रहार गरेको अश्रु ग्यासको सेल टाउकोमा लागेपछि राजविराज–३, का १० वर्षीय कलाम गम्भीर घाइते भएका छन् ।
आन्दोलनकारीले विहानै रुपनीमा स.४ प ५३११ नम्बरको मोटरसाइकल कब्जामा लिई आगजनी गरे । यसपछि पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल समेत चल्न दिइएन ।
रुपनीसहित, ठेलिया, कंचनपुर, बरमझिया, पोर्ताहा र भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बाल्नुका साथै काठको मुढा तेस्र्याएर अवरुद्व गरिएको थियो । यी ठाउँहरुमा दिनभर प्रदर्शन भएको छ । साँझ ७ बजेदेखि प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।
पुलको रेलिङ्ग भत्काइयो, प्रहरीको भ्यान जलाइयो
आन्दोलनकारीले बरमझियास्थित सुन्दरी खोलाको पुलको रेलिङ्ग समेत भत्काइदिए भने राजविराजमा प्रहरी चढेको भ्यानमा आगजनी समेत गरे ।
आगजनीले ना.१ झ १३१६ नम्बरको प्रहरी भ्यानको पछाडिको पूरा भाग जलेर नष्ट भएको छ ।
पत्रकार र चिकित्सकमाथि हातपात
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका कर्मचारीमाथि प्रहरीले हातपात गरेको थियो । यसको विरोधमा चिकित्सकहरुले अस्पतालको सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दीपा यादवले विज्ञप्तीमार्फत प्रहरीले हातपात गरेको विरोधमा कामकाज रोकिएको जनाएकी छन् । उनका अनुसार अस्पतालभित्र प्रवेश गरेका प्रहरीले ल्याब टेक्निसियन विश्वनाथ मण्डल, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, अहेब रामकुमार यादव, सुबोध मेहता, राजाराम यादव, रजनीकान्त चौधरी र देबानन्द मण्डलमाथि हातपात गरेका हुन् ।
यस्तै, राजविराजको गजेन्द्र चोक अगाडि प्रदर्शनको फोटो खिचिरहेका पत्रकारमाथि पनि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले पत्रकारहरु ओमप्रकाश साह, सतिश दत्त, परिष कर्ण र आसुतोष आनन्द सिंहलाई कुटपिट गरेका थिए ।
सरकार गम्भीर भएनः मोर्चा
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार गम्भीर र संवेदनशील नभएको आरोप लगाएको छ । मोर्चाले विज्ञप्ती जारी गर्दै वार्ताका क्रममा सप्तरीमा गोली चलाउनुले सरकार वार्ताप्रति गम्भीर नभएको पुष्टि जनाएको जनाएको छ ।
विज्ञप्तीमा प्रहरीको गोलीबाट चार जना आन्दोलनकारी मारिएको उल्लेख गरिएको छ ।
–श्रवणकुमार देव, सप्तरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
