थप समाचारसोमबार, मंसिर ७, २०७२
सप्तरी: प्रहरी चौकी, भन्सार कार्यालय र सवारी साधनमा आगजनी (अपडेट)
सप्तरीमा प्रदर्शनकारीले प्रहरी चौकी, भन्सार कार्यालयका साथै प्रहरी र सर्वसाधारणको मोटरसाइकल जलाएका छन् ।
सप्तरीको भारदहमा प्रदर्शनकारीले नेपाल प्रहरीका घुमुवा जवानलाई नियन्त्रणमा लिएर उनी चढेको मोटरसाइकल जलाइदिएका छन् ।
७ मंसीर विहान करिब ५ बजे प्रहरी जवान उमेश मण्डल चढेको को.३ प ३१३६ नम्बरको मोटरसाइकल मोर्चाका कार्यकर्ताले जलाएका हु्न् ।
भारदहमै अर्काे बा. ६२ प ४१६२ नम्बरको सर्वसाधारण सवार मोटरसाइकल पनि उनीहरुले जलाएका छन् ।
सप्तरीको रुपनीमा बिहानैदेखि प्रदर्शन भइरहेको छ भने कंचनरुप नगरपालिकाको कंचनपुर बेरियरमा र सदरमुकाम राजविराजमा आन्दोलनकारी–प्रहरीबीच झडप भइरहेको छ ।
प्रहरीले यात्रुवाहक बसलाई सुरक्षा दिई गन्तब्यतर्फ पठाउने क्रममा आन्दोलनकारीले अवरोध गर्दा कंचनपुरमा दुई पक्षबीच बिहानैदेखि झडप भइरहेको छ । झडपका क्रममा प्रहरीले हवाई फायर गरेको छ ।
राजविराजमा पनि बिहानैदेखि झडप भइरहेको छ । झडपका क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
आन्दोलनकारीले को. बर्साइनस्थित प्रहरी चौकीमा आगजनी गरेका छन् । तिलाठी गाविसस्थित जिल्ला भन्सार कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । भन्सार कार्यालयमा भने प्रहरी तत्कालै पुगी आगो निभाउन सफल भएको छ । भन्सार कार्यालय परिषरबाट प्रहरीले फोरम लोकतान्त्रिकका युवा नेता निरज मुक्तिको स.५प ५५३३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
राजविराजमा प्रदर्शनकारीले ‘सुरक्षाकर्मीको रासन बन्द गरौं,’ ‘डेरा खाली गराऔं,’ ‘दोषी प्रहरीलाई कार्वाही गर’ भन्ने नारा लगाइरहेका छन् । प्रहरीले भारदहमा स्थानीयको घरभित्र प्रवेश गरी लाठी प्रहार र तोडफोड गरेको मोर्चाले जनाएको छ ।
–श्रवणकुमार देव, सप्तरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
