थप समाचारसोमबार, मंसिर ७, २०७२
भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन
भारतले गरेको नाकाबन्दी विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ ।
अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति थियो ।
विरोध प्रदर्शन नेपालीहरुबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरुले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म र्याली निकालेका थिए ।
एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)ले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ ।
नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरुलाई यसअघि नै ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र र्यालीमा पढेर सुनाइएको थियो ।
अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो । रासस