समाचारमंगलबार, मंसिर ८, २०७२
हवाई इन्धनसहितको ट्याङ्कर नियन्त्रणमा
वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ ।
नेपालगन्जबाट आएको ना २ ख ४३६५ नम्बरको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको बेलचोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नेपाल आयल निगमसँग कुनै स्वीकृति नलिई नेपालगन्ज नाकाबाट भित्रिएको इन्धन नारायणगढ आइपुगेपछि निजी घरमा झार्दै गर्दा ट्याङ्करलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एक जना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगन्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा–४ का सोमलाल ब्लोन छन् ।
ट्याङ्करमा सात हजार लि जति हवाई इन्धन रहेको बताइएको छ ।
अभियुक्तले प्रहरीलाई रु ५० हजार घुस दिन खोजेको तर सो रकमसहित व्यक्ति नियन्त्रणमा लिइएको कुँवरले बताए ।
सो इन्धन बाटोमा बिक्री गर्दै बॉकी त्रिभुवन विमानस्थलमा बिक्री गर्न लैजान लागेको खुलेको छ ।
प्रहरी उपरीक्षक कुँवरले आयल निगमका कर्मचारीको मिलेमतोमा अवैध रुपमा इन्धन लैजान लागेको हुन सक्ने आशङ्का व्यक्त गरे ।
अभियुक्तलाई कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
