समाचारमंगलबार, मंसिर ८, २०७२
बाबुरामको नयाँ शक्तिमा पूर्व एमाओवादी मात्रै
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति राष्ट्रिय अभियान गठन भएको छ ।
पत्रकार सम्मेलनको आयोजना गरेर अभियानले विभिन्न संयोजक समेत तोकेको जानकारी दिएको छ । मेची र कोसीको संयोजकमा राजेन्द्र किराँती र मध्य–तराई संयोजकमा रामचन्द्र झा, काठमाडौँ र यसको आसपासको क्षेत्रका लागि गङ्गा श्रेष्ठलाई तोकिएको छ ।
यस्तै, गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात—अवधमा वामदेव क्षेत्री, भेरी कर्णालीमा भक्तबहादुर शाह, सेती–महाकालीमा नवराज सुवेदी, जनवर्गीय एवम् मोर्चामा कुमार पौडेल, अन्तर्राष्ट्रियमा हिसिला यमी र जातीय मोर्चाको संयोजकमा रामकुमार शर्मा तोकिएका छन् ।
सवै संयोजकहरु भट्टराईले भर्खरै परित्याग गरेको पार्टी एमाओवादीका नेताहरु हुन् । नागरिक समाज, अन्य राजनीतिक दलका कार्यकर्ता अभियानमा संलग्न नभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री भट्टराईले तराई–मधेशको समस्यालाई तत्काल राजनीतिक तवरले समाधान गर्न आग्रह गरे।