प्रमुख समाचारमंगलबार, मंसिर ८, २०७२

‘नाकाबन्दी र आन्दोलनले पलायनको सोच बढ्यो’

हिमालखबर

नाकान्दी र आन्दोलनले मुलुकको अर्थतन्त्र र सामाजिक व्यवस्थासमेत धराशायी हुन थालेको, व्यवसायी र युवाहरुमा पलायनमा सोच पलाएको सम्वन्धित क्षेत्रका जानकारहरु बताउँछन् ।

तराईको ८ जिल्ला घुमेर आएपछि डा सुरेन्द्र लाभले अनुभव सुनाएः
कतिपय उद्योग बन्द भए कतिपय बन्द हुने क्रममा छन् । ब्यापारीमा पलायन हुने सोच पलाएको छ ।

कृषि क्षेत्रमा पनि त्यस्तै छ, सीमा पारीका किसानले धान काटेर गहूँ छर्दैछन् । सीमा वारी सुरसार छैन । मलखाद हाल्ने समयमा आन्दोलन भएर मलखाद पाइएन । हलोलाई ट्रयाक्टरले विस्थापन गरिसकेको छ तर, ट्रयाक्टर चलाउन डिजेल छैन ।

खुद्रा ब्यापारमा डिलरले १० प्रतिशत कमिसन दिइरहेकोमा अहिले घटाएर ८ प्रतिशतमा झारेको छ । सामान किन्दा कुनै स्किम वा अफर दिन छाडिएको छ । सामान नै अभाव छ ।

एउटा सामान्य खुद्रा ब्यापारीको ३ महिनामा ३ लाख रुपैयाँ नोक्सान भएको छ । वीरगञ्जमा एउटै ठूलो होटेलको घाटा रु १ करोड पुगेको छ । त्यहाँ भएका होटललाई करिब १० करोड घाटा भएको मेरो अनुमान छ ।

कालोबजारी ब्यापाक छ । ‘स्याडो इकोनोमी चलेको छ ।’ महंगी थेगिनसक्नु भइसक्यो ।

तराईमा भारतीय रुपैयाँको चर्को अभाव छ । युवा र अवकाशप्राप्त नागरिक पलायन हुनेबारे सोचिरहेका छन् । जग्गाको कारोबार ठप्प छ ।

तराईका ८ जिल्ला मानव विकास सूचकांकमा पनि तलै छन् । अब अझ तल झर्ने भए ।

यातायात व्यवसायीका गाडी चलेका छैनन्, तर कर तिर्नु परिरहेको छ । निर्माण सामाग्रीको अभाव उस्तै छ ।

बन्द खुल्नेबित्तिकै ‘मनी साइकल’ बिग्रिन्छ र पैसाको चरम अभाव हुन्छ ।

तराईका पत्रकार भोला पासवानको अनुभवः
सप्तरीमा २१ सय बिगाह जमिनमा १४ सय किसानले ब्यबसायिक केरा खेती गरेका छन् । त्यसमध्ये ५ सय किसानले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

तर, बन्द र नाकाबन्दीले त्यहाँ अढाइ करोड रुपैयाँको केरा कुहियो ।

सप्तरीमा ७० हजार हेक्टर खेती योग्य जमिन छ । गत वर्ष ४२ हजार हेक्टरमा खेती भएको थियो । यो वर्ष ३२ हजार हेक्टरमा झर्‍यो ।
कृषि कार्यालयले कृषिमा ३४ प्रतिशत ह्रास आउँछ भनेको छ ।

आन्दोलन भएको १५ दिनमा सिमेन्ट र रडजस्ता निर्माण सामाग्री सकियो । निर्माणको काम गर्ने मजदुरलाई काम छैन । मैले चिनेको एक जना मजदुरको केही अघि बाबु आमा दुवै बित्नुभयो ।

अबस्था कस्तो भयो भने खर्च चलाउन चन्दा उठाउनु पर्‍यो । सप्तरीमा भएका १० वटा राइस मिल, ५ हजार साना पसल ब्यबसाय बन्द छन् ।

९३ वटा साना सवारी साधन ऋणमा लिइएका छन् । ती हरेक सवारी साधनले दैनिक ३ हजार रुपैयाँ कमाउँथे । त्यो गुमेको छ । १२ वटा इँटा ब्यबसायी छन् ।

उनीहरुले कामदार बंगालबाट ल्याउँथे । कामदारलाई अग्रिम २ लाख देखि १० लाख रुपैयाँ दिन्थे । तर बंंगालबाट कामदार आउन नसक्दा करिब २ करोड रुपैयाँ डुबेको इटा ब्यबसायीले बताएका छन् ।

गाडी चढ्ने १४/१५ जना हुन्छन् । टिकट बेच्ने १८/१९ जना । कसरी गुजारा हुन्छ भनेर सोध्दा चिया खानै गाह्रो छ भने उनले ।

बन्दको यो अवधिमा साढे १४ करोड रेमिट्यान्स आएछ । तराइमा खेती गर्ने प्रणाली फेरिएको छ । १ बिगाह जग्गा हुनेले अँधियामा लगाएर ४० मन धान पाउँछ ।

यही अँधिया खेति र रेमिट्यान्सले तराईको जीवन चलिरहेको छ ।

ब्यबसायी अजय प्रधानाङ्गः
२२ सय उद्योग बन्द छन् । भारत निर्यात गर्ने उद्योग र निर्माण ब्यबसायी नराम्ररी प्रभावित बनेका छन् । स्टक हुने उद्योग चलेका छन् ।

साना र मझौला उद्योग थलिएका छन् । युवा उद्यमीको मानसिकता बिग्रिएको छ । उनीहरु नेपाल बसेर ठीक गरिएनछ भन्नेमा पुगेका छन् । अरु त अरु मैले चिनेको एउटा आइटी कम्पनी भारतको गुडगाउँ सर्ने सोचमा छ ।

वाणिज्य विज्ञ पुरुषोत्तम ओझा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा लगायतका विज्ञले नेपालको अर्थतन्त्र कालोबजारी, स्मगलिङ र रेमिट्यान्सले चलेको बताए ।

उनीहरुले यो तराईको समस्या राजनीतिक भएकाले समाधान पनि राजनीतिक तहमै खोजिनुपर्ने बताए ।

८ मंसीरमा अलायन्स फर सोसियल डायलग र नेपाल इकोनोमिक फोरमले राजधानीमा आयोजना गरेको ‘लर्निङ फ्रम द इकोनोमिक क्राइसिसः इम्प्याक्ट एण्ड लेसन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीका अनुभव ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>