समाचारबिहीबार, मंसिर १०, २०७२
मोर्चाद्वारा रेडियो परासीमा पेट्रोल बम आक्रमण
नवलपरासीस्थित रेडियो परासी कार्यालयमा मधेशी मोर्चाका कार्यकर्ताले ‘पेट्रोल बम’ प्रहार गरेका छन् ।
९ मंसीर राति करिव १० बजे रेडियो स्टेशनमा पेट्रोल बम प्रहार भएको रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिए ।
मोर्चाका कार्यकर्ताले रेडियो स्टेशन परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगो लगाएका छन् । आगजनीबाट मोटरसाईकल पूर्ण रुपमा ध्वस्त भएको छ । पेट्रोल बम प्रहारबाट भने ठूलो क्षति हुन पाएन ।
केही समयदेखि मधेशी मोर्चाको आन्दोलनको भन्दा सरकारी पक्षको समाचार रेडियोले बढी प्रसारण गरेको भन्दै धम्की आउने गरेको रेडियोले जनाएको छ ।
रेडियोका अध्यक्ष सुमनगोपाल आर्चायले दोषिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
आक्रमणपछि रेडियो परासीको प्रशारण अनिश्चितकालका लागि बन्द भएको छ ।
रेडियोमाथि आक्रमण गर्नु निन्दनीय र स्वतन्त्र प्रेसको विपक्षमा भएको प्रेस चौतारी नेपाल नवलपरासीले जनाएको छ ।
प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष विद्रोही गिरीले एक बिज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र रेडियो सञ्चालनको वातारण बनाउन स्थानीय प्रशासनसंग जोडदार माग गरेका छन् ।