समाचारबिहीबार, मंसिर १०, २०७२
पेट्रोल ल्याएको निहुँमा मोर्चाका कार्यकर्ताले ज्युँदै जलाए

तस्वीर: रासस
मधेशी मोर्चाका कार्यकर्ताले मोरङको भाथिगाछ–७ का बब्लु राजवंशीमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगजनीबाट उनी चढेको मोटरसाइकल समेत ध्वस्त भएको छ ।
भारतबाट एक जर्किन पेट्रोल मोटरसाइकलमा लिएर भाथिगाछ–२ स्थित आफ्नो ग्यारेजमा जाँदै गरेका २८ वर्षीय राजवंशीलाई मोर्चाका कार्यकर्ताले रोकेर मोटर साइकलमा आगो लगाएका थिए ।
त्यसक्रममा राजवंशीले प्रतिकार गरेपछि उनीहरुले पेट्रोल राजवंशीमाथि नै खन्याएर उनीमाथि पनि आगो लगाएका हुन् ।
आगोले जलेर घाइते भएका राजवंशीलाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा शरीर ५० प्रतिशतभन्दा बढी जलेकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला अस्पताल पठाइएको छ ।
घाइते राजवंशीका आफन्तले आगो लगाउनेमध्येका तीन जनाको पहिचान भएको र उनीहरु मोर्चाका कार्यकर्ता रहेको बताएको मोरङ्का एसपी तारिणीप्रसाद लम्सालले जानकारी दिए ।
अहिले पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिने क्रममा छन् ।
आगलागीबाट राजबंशी चढेको को १ प २४५० नम्बरको मोटरसाइकल ध्वस्त भएको छ । आगो लगाउनेहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
