समाचारशुक्रबार, मंसिर ११, २०७२
इटहरीमा तनाव, मधेशी मोर्चाको मञ्च विद्यार्थीले भत्काए
मधेशी मोर्चासहितको संघीय गठबन्धनले इटहरीमा आयोजना गर्न लागेको आमसभाका लागि बनाइएको मञ्च स्थानीय युवा-विद्यार्थीले भत्काइदिएका छन् ।
आज मधेश केन्द्रित दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम अनुसार विहानै संघीय गठबन्धनले इटहरीमा बनाएको मञ्च स्वतःस्फूर्तरुपमा जम्मा भएका स्थानीय विद्यार्थीहरुले भत्काएर आगो लगाइदिएका हुन् ।
उनीहरुले नाकाबन्दी र लगातारको हिंसात्मक आन्दोलनले जनजीवन निकै कष्टकर भएकोले भारतको नाकाबन्दीको समेत जिम्मा लिने नेताहरुलाई सम्बोधन गर्न नदिने बताइरहेका छन् ।
अहिले इटहरीमा गठबन्धन र विद्यार्थी दुवैतर्फको प्रदर्शन जारी छ । प्रहरीले दुवै पक्षलाई आमनेसामने हुनबाट रोकिरहेको छ ।
इटहरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दुवैपक्षलाई प्रहरीले अलग्याएर स्थिति साम्य बनाउने प्रयास गरिरहेको बताए ।
“विद्यार्थीहरुले आमसभा गर्न नदिने भन्दै प्रदर्शन गरिरहेका छन्, प्रहरीले मञ्चस्थलमा सुरक्षा दिइरहेको छ र मञ्च निर्माण कार्य फेरि शुरु भएको छ,” प्रजिअ पन्थले हिमालखबरसँग भने ।
विद्यार्थीहरुले भारतविरुद्ध समेत नाराबाजी गरिरहेका छन् ।