थप समाचारशुक्रबार, मंसिर ११, २०७२
मधेशकेन्द्रित दलको माग मुलुक असफल पार्नेमात्र: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाको माग देशलाई असफल पार्ने र नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गरेका छन् ।
११ मंसीरमा इटहरीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको बताए ।
मधेश केन्द्रित दलहरु लामो समयदेखि सत्तामा रहे पनि जनतालाई समृद्ध बनाउने विषयमा कुनै योजना अघि नसारेको आरोप लगाए ।
अहिले मधेशी मोर्चाले अरु कसैको इशारामा आन्दोलन गरिरहेको भन्दै उनले यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेशवासी नेपाली जनतालाई बुझाउन जरुरी रहेकोमा जोडदिए ।
मधेशका जनतालाई दास बनाउने कार्यमा मधेशकेन्द्रित दलका नेताहरुले नै लामो समयदेखि प्रयत्न गरेको र उनीहरुलाई माथि उठ्नसमेत नदिने प्रपञ्चमा मधेशका नेताहरु नै लागेको उनको आरोप छ । उनले भने, “राज्यले मधेशमाथि कुनै विभेद गरेको छैन।”
कुराकानीका क्रममा उनले नयाँ संविधान मधेशमैत्री भए पनि मधेश केन्द्रित दलहरुले जनतामा संविधान विरोधी भ्रम फैलाएको र त्यो भ्रमलाई चिर्न राजनीतिक दलले नसकेको बताए ।
उनले भने, “संविधानमा केही शब्द समेट्दा वा थप्दा मधेशकेन्द्रित दलका नेतालाई चित्त बुझ्छ भने समेट्न सकिन्छ तर अशान्ति र अराजकता भने उनीहरुले त्याग्नुपर्छ ।”
सुनसरी र मोरङलाई टुक्र्याएर २ नं प्रदेशमा मिसाउने कुरामा एमालेको समर्थन नरहने प्रष्ट पार्दै उनले अगाडि भने, “यहाँका जनता २ नं प्रदेशमा जान चाहँदैनन्, एमाले जनताको भावना विपरीत जाँदैन र कहिल्यै गएको पनि छैन ।”
सीमाङ्कनको विषय सङ्घीय आयोगमार्फत समाधान गर्न सकिने उनको भनाइ छ । त्यसमा असहमत हुने हो भने दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न उनले मधेश केन्द्रित दलहरुलाई चुनौती पनि दिए ।
नेता नेपाल पार्टी सङ्गठनका लागि पूर्वी नेपालको भ्रमणमा छन् ।
रासस