समाचारशुक्रबार, मंसिर ११, २०७२
इटहरीमा मोर्चाका नेता पुग्न नसकेपछि लिम्बुवानले प्रहरी घेराभित्र कार्यक्रम गर्यो
सुनसरीको इटहरीमा स्थानीयको विरोध प्रदर्शनले गर्दा मधेश केन्द्रित दलका नेताहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यहाँ पुग्न सकेनन् ।
आज ११ मंसीरमा मधेशी मोर्चा, संघीय लिम्बुवान पार्टी लगायतका दलहरुको संघीय गठबन्धनले आयोजना गरेको आमसभाको स्थानीयले चर्काे विरोध गर्दा मधेश केन्द्रित दलका नेताहरु त्यहाँ पुग्न सकेनन् । उनीहरुले आफ्नो कार्यक्रम नै रद्द गरे ।
नेताहरु नआएपछि लिम्बुवानका कार्यकर्ताको सानो समूहले प्रहरीको सुरक्षा घेराभित्र कार्यक्रम गर्यो ।
नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल लगायतका विद्यार्थी संगठनले देशमाथि नाकाबन्दी गर्ने र सुनसरीकै ४ जनालाई एसएसबीले गोली हान्दा समेत भारतकै समर्थन गर्ने नेताहरुलाई सम्बोधन गर्न नदिने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले संघीय गठबन्धनले तयार पारेको मञ्च विहानै जलाईदिएका थिए भने अहिले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सभामा सहभागी हुन अन्य ठाउँबाट बसमा आउँदै गरेका संघीय समाजवादी फोरमका कार्यकर्ताहरुलाई स्थानीयले बाटोमै रोकेका छन् भने बसमा झुण्ड्याइएको ब्यानर र झण्डा खोसेर जलाएका छन् ।
अहिले इटहरीमा ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीले विरोध गरिरहेकाहरुलाई मञ्च भएको स्थानमा जान दिएका छैनन् । मधेश केन्द्रित दलका नेताहरु कार्यक्रमस्थलमा जान नसकेपछि सानो संख्यामा उपस्थित लिम्बुवान र केही मधेशी दलका कार्यकर्ताहरुले प्रहरीको सुरक्षा घेराभित्र कार्यक्रमको औपचारिकता पूरा गरे ।
आज इटहरीमा उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव विराटनगरमा र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सप्तरीमै रोकिएका छन् ।
कमल रिमाल