समाचारशनिबार, मंसिर १२, २०७२
वीरगञ्जमा पनि बालबालिकालाई प्रदर्शनमा उतारियो
भारताको नाकाबन्दी विरुद्ध प्याब्सनको आयोजनामा राजधानीको चक्रपथमा बालबालिकाले मानव साङलो बनाएको अर्को दिन वीरगञ्जमा पनि स्कुले बालबालिकालाई प्रदर्शनमा उतारिएको छ ।
राष्ट्रिय निजी तथा आवसीय विद्यालय संगठन (एनप्याब्सन) पर्साले मधेश आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिन भन्दै संगठनमा आवद्ध विद्यालयका बालबालिकालाई १२ मंसीरमा विद्यालय पोशाकमै प्रदर्शनमा उतारेको हो । यद्यपी अहिले आन्दोलन भइरहेका मधेशका जिल्लाहरुमा विद्यार्थीलाई विद्यालय पोशाक लगाउन मधेशी मोर्चाले छुट दिएको छैन ।
‘मधेशी वीर शहीद अमर रहुन्,’ ‘ऐतिहासिक मधेश आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहीदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ’ लेखिएको व्यानर सहित वीरगन्जको घण्टाघरबाट निकालिएको श्रद्धाञ्जली र्याली माईस्थान, मकालु होटल चोक, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा १० बर्ष सम्मका स–साना बालबालिकाहरुको समेत प्रयोग गरिएको थियो । एन्जल ईन्टरनेशनल सेकेन्डरी बोर्डिङमा ५ कक्षामा अध्ययनरत १० वर्षीया स्नेहा जोशीले अधिकार नपाएकोले र्यालीमा आएको बताईन् ।
आन्दोलनमा ज्यान गुमाएका शहीदकोे श्रद्धान्जलीका लागि निकालिएको र्यालीमा सहभागी भएकी उनले आफ्नै व्यथा सुनाईन् । “विद्यालय बन्द भैरहेको छ । विद्यालय पोशाकमा विद्यालय आउन पाएको छैन् । हामीले हाम्रो अधिकार पाईरहेका छैनौं त्यसैले सरकारलाई दबाव दिन र्यालीमा आएको ।”
अर्को एक नीजि विद्यालयमा कक्षा ५ मा अध्ययनरत १० वर्षकै रोशन शर्माले मधेशको माग पूरा गर्न ¥यालीमा सहभागी भएको बताए । तर उनले मधेसको माग के–के हो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।
र्यालीमा मधेश आन्दोलन, आन्दोलनको माग र उद्देश्यका बारेमा केही पनि जानकारी नभएका अबोध बालबालिकाका सहभागी थिए ।
त्यस्तै विद्यार्थीहरुले बोकेको प्ले कार्डहरुमा पनि शैक्षिक भन्दा राजनीतिक नारा लेखिएको थियो ।
र्यालीपछि घण्टाघरमा भएको कोणसभामा बोल्दै एनप्याब्सनका पूर्व अध्यक्ष एवं आन्दोलनमा रहेको नेपाल समाजवादी पार्टी (लोहियावादी)का अध्यक्ष नन्दन यादवले धेरै जसो राजनीतिक कुरा गरे ।
उनले खसवादी शासकले मधेश मुक्तिको माग पूरा गर्न आनाकानी गरिरहेको बताए ।
यादवले मधेशको माग पूरा नभएसम्म मधेशी जनता आन्दोलनबाट पछि नहट्ने बरु अलग राष्ट्र माग्ने तर्फ अघि बढ्ने चेतावनी दिए ।
पाँच वर्षको बच्चाले बिहानै उठेर ‘जय मधेश’ भन्ने गरेको भन्दै उनले बालबालिकाको भविष्यकै लागि मधेशआन्दोलन भैरहेको दाबी गरे ।
मधेशको माग पूरा नभए बालबालिकाले पढेर समेत केही गर्न नसक्ने उनको भनाई थियो ।
राजधानीमा ११ मंसीरमा बालबालिकाले मानवसाङलो बनाए लगत्तै नेपाल मानव अधिकार संगठनले बालबालिकालाई आन्दोलन र विरोध प्रदर्शनमा उतार्नु बालअधिकार विरुद्ध हुने भन्दै त्यसो नगर्न आग्रह गरेको थियो ।