समाचारशनिबार, मंसिर १२, २०७२
राष्ट्र संघमा उजुरीः नाकाबन्दी मानवतावाद विरुद्धको अपराध
नागरिक अगुवा सुवोध प्याकुरेलले नाकाबन्दी मानवतावाद विरुद्धको अपराध भएकाले राष्ट्र संघमा उजुरी दिएको बताएका छन् ।
“मानवीय संकट निम्त्याउँदै गरिएको नाकाबन्दी मानवतावाद विरुद्धको अपराध हो । नेपालका नागरिक अगुवाहरुले प्रमाणसहित उजुरी दिइसकेका छौं”, प्याकुरेलले भने । तत्काल नाकाबन्दी हटाएर जनजीवन सहज बनाउनुपर्ने मागसहित उजुरी दिएको उनले बताए ।
नाकाबन्दी खुलाउन दबाव दिन मानव साङ्ग्लो बनाउने कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा प्याकुरेलले यो अपराधका अभियुक्तहरुलाई आममाफी दिन नहुने बताए । “नाकाबन्दीका अभियुक्तहरुलाई आममाफी नदिनेगरी सरकार लाग्नुपर्छ”, प्याकुरेलले भने ।
१४ मंसीरमा काठमाडौंको सिंहदरवारदेखि पुल्चोकसम्म मानव साङ्ग्लो बनाउन प्याकुरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग परिणाममूखी वार्तामार्फत नाकाबन्दी खुलाउने प्रयत्नका लागि दबाव दिन मानव सांग्लो बनाउन लागिएको प्याकुरेलले बताए ।
उनले मधेशको समस्या संसदबाट हल गरिनुपर्ने बताए । संयोजक प्याकुरेलले भने, “वार्तालाई प्रत्यक्ष प्रशारण गरेर जनतालाई समेत सुचित गरिनुपर्छ ।”
जनतालाई आन्दोलन, नाकाबन्दी र सरकार चिनाउने अवसर प्रदान गर्नेगरी वार्ता प्रत्यक्ष प्रशारण हुनुपर्ने उनले बताए । विभिन्न राजनीतिक संगठनमा आवद्ध रहेका युवाहरुले मानव सांग्लोसहित नाकाबन्दी हटाउन दबाव दिन प्याकुरेलको संयोजकत्वमा आयोजक समिति गठन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
