समाचारआइतबार, मंसिर १३, २०७२
भारतीय जिप तोडफोड गर्ने माओवादीका इन्चार्चसहित पाँचजना पक्राउ
नेकपा माओवादीले आज, १३ मंसीर बिहान कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नम्बरको जिप तोडफोड गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको एचआर २६ जेड ०२२७ नम्बरको भारतीय जिप नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले विद्युत् कार्यालय नजिक तोडफोड गरेका हुन् ।
प्रहरीले जिप तोडफोड र यातायातमा अवरोध पुर्याउँदै हिँडेका माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले तोडफोड गरिएको जिपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ ।
प्रहरीले कञ्चनपुरमा गुडिरहेका भारतीय सवारी साधनको सुरक्षामा विशेष चासो देखाउँदै आज बिहानैदेखि सुरक्षा सक्रियता बढाएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका अनुसार पश्चिमी नाका गड्डाचौकीबाट नेपाल आउने भारतीय सवारी साधनलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बनबासा क्षेत्रमै रोकेको छ ।
माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउँदै तोडफोड गर्न थालेपछि एसएसबीले भारतीय सवारी साधनलाई सिमानामै नेपाल आउन रोकेको हो ।
रासस