समाचारआइतबार, मंसिर १३, २०७२
कोइराला अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित
निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि स्थगित भएको छ ।
बैठकमा परिषद्ले रिक्त रहेका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त पदका लागि परेका आवेदनमा छलफल मात्र भएको र कुनै निर्णय नभएको परिषद्का सदस्य एवम् प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला अस्वस्थ्यताका कारण बैठकमा अनुपस्थित भएको बताइएको छ ।
परिषद्ले गत २० कात्तिकमा ती पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
परिषद्ले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा रिक्त पदका लागि आवेदन परेका नामका बारेमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने परिषद्का सदस्य एवम् सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिबी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि आयोगका ती पद रिक्त भएका हुन् ।
संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक प्रावधान छ ।
रासस