समाचारआइतबार, मंसिर १३, २०७२
पक्राउ परेका एसएसबीका १३ जवान भारतलाई बुझाइयो
आज बिहानै हतियारसहित नेपाल पसेका भारतीय सुरक्षा निकाय एसएसबीका १३ जवानलाई नेपाल प्रहरीले भारतीय अधिकारीहरुको जिम्मा लगाएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक भीम दाहाल सहितको टोलीले भारतको किसनगञ्ज जिल्लाको सिमावर्ती कादो गाँउ नजिक दशगजामा भारतीय सिमा सुरक्षा अधिकारीहरुलाई विहान पक्राउ परेका एसएसबीका जवानहरु जिम्मा लगाएको हो ।
उनीहरुलाई जिम्मा लगाइएको भन्ने ब्यहोराको सामान्य कागजमा हस्ताक्षर समेत गराइएको छ ।
आज १३ मंसीर बिहान उज्यालो नहुँदै केचना बेसक्याम्प नजिकैका लालमोहम्मद आलमको घरमा नकाब लगाएका एसएसबीका जवानहरु पसेका थिए ।
नकाबधारी हतियारधारीलाई स्थानीयको घरमा पसेको देखेका गाउँलेले प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरीले बिहान करिब ७ बजे उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका १३ मध्ये चारजना हतियार सहित थिए ।
करिब ७ घण्टापछि एसएसबी किसनगञ्जका कमाण्डर बोलाई बुझाइएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले बताएका छन् ।
एसएसबीका जवानलाई जिम्मा लगाउन लैजाँदै गर्दा स्थानीय जनताले भारतीय दादागिरी मुर्दाबाद भन्दै नारावाजी गरेका थिए ।
———————————————————————————————-
हतियारसहित नेपाल पसेका एसएसबीका १३ जवान सशस्त्र प्रहरीको नियन्त्रणमा
हतियार सहित नेपाल पसेका भारतीय सशस्त्र सीमा बल (एसएसबी) का १३ जवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई झापाको केचना– ४ स्थित बेस क्याम्पमा राखेको छ ।
१३ मंसीर बिहान उज्यालो नहुँदै केचना बेसक्याम्प नजिकैका लालमोहम्मद आलमको घरमा नकाब लगाएका एसएसबीका जवानहरु पसेका थिए ।
नकाबधारी हतियारधारीलाई स्थानीयको घरमा पसेको देखेका गाउँलेले प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरीले बिहान करिब ७ बजे उनीहरुलाई नियन्त्राणमा लिएको थियो ।
आफ्ना जवानहरु सशस्त्रको नियन्त्रणमा पुगेपछि छलफल गर्न आएका एसएसबीका अधिकारीहरुले जवानहरु तस्करलाई लखेट्ने क्रममा नेपालतर्फ प्रवेश गरेको दाबी गरेका छन् । छलफलका लागि बिहान ८ बजेतिर आएको एसएसबीका अधिकारीको टोली फर्किसकेको छ ।
उनीहरु हतियारसहित नेपाल प्रवेश गर्नुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले एसएसबीका जवान राखिएको केचनाको सशस्त्र बेसक्याम्प वरपर सयौं गाँउलेको भीड जम्मा भएको छ भने सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
गोपाल गडतौला, झापा