ब्लगआइतबार, मंसिर १३, २०७२
विदा भए वनवारीलाल
जंगबहादुर राणाले वि.सं. १९०५–१० बीचमा राजस्थान र बिहारको बेतियाबाट हरजश राय, उच्चडमल टिबडेवाला, आशाराम–घाँसीरामसहित एक दर्जन मारवाडी परिवारलाई व्यापारका लागि नेपाल भित्र्याएका थिए । त्यही पुस्ताका मारवाडीमध्ये एक थिए– रामरतनदास ।
रामरतनदासले इन्द्रचोकमा खोलेको कपडा पसललाई छोरा बलदेवदास र त्यसपछि नाति हनुमानप्रसादले निरन्तरता दिए, इमान–जमानको साखसहित । मूल्य र परिमाण तलमाथि नगर्ने ‘हनुमान साहूको पसल’ को लोकप्रियता चारभञ्ज्याङ नाघेर फैलियो ।
आजका अर्बपति विनोद चौधरीका बाजे भुरामल नेपाल आएर शुरूमा त्यही पसलमा काम गरेका थिए ।
अत्यन्तै धार्मिक स्वभावका हनुमानप्रसादले पूर्व घोषणा गरेको मितिमै ३९ वर्षको उमेरमा देहत्याग गरेको छोरा वनवारीलाल मित्तलले हिमाल सँग बताएका थिए ।
सरकारी मुखपत्र गोर्खापत्र ले ३ साउन २००१ को अंकमा दानका लागि पनि सुप्रसिद्ध ३२ कोठी महाजन हनुमानप्रसादको निधन योगीको जस्तै भएको भन्दै सम्पादकीय लेखेको थियो । उनको निधनमा जुद्धशमशेरले शोक व्यक्त गरेको र पद्मशमशेर रोएको वनवारीलालले हिमाल लाई सुनाएका थिए ।
बुबाको मृत्युपछि दाजुहरूसँगै आठ वर्षको उमेरमा नाफा–नोक्सानको दुनियाँमा पसेका वनवारीलाल मित्तलले पनि ८० वर्षे चोलामा कहिल्यै नैतिक प्रश्न उठ्न नदिई ९ मंसीरमा सदाका लागि विश्राम लिएका छन् ।
सफल–निष्कलंक जीवन
भारतबाट झिकाइएका मारवाडी परिवारको चौथो पुस्ताका वनवारीलालले परम्परागत पारिवारिक कपडा व्यापारलाई गलैंचा, पस्मिना, तयारी पोशाक, चिया उद्योग, आयात–निर्यात र निर्माण व्यवसायदेखि एअरलाइन्ससम्म विस्तार गरे ।
दुई पटक नेपाल चेम्बर अफ कमर्सको नेतृत्व गरेका उनले जीवनमा जति धन कमाए, त्यसमा कहिल्यै अनैतिकताको दाग लाग्न दिएनन् । ‘देशका एक इमानदार व्यवसायी’ उनले कमाएको सबभन्दा ठूलो पूँजी थियो ।
कपडा र खाद्यान्न व्यापारमा सीमित मारवाडी समुदायका वनवारीलाल पहिलो व्यवसायी थिए, जसले मित्तल कन्स्ट्रक्सन कम्पनी खोलेर निर्माण व्यवसायमा हात हाले ।
नेपाल निर्माण व्यवसायी महासंघको संस्थापक अध्यक्ष रहेका उनले सडक, सिंचाइ, जलविद्युत्लगायतका पूर्वाधार निर्माणको काम गरे । निर्माण व्यवसायमा दादागिरी र भ्रष्टाचार छिरेपछि भने देवताको डर राख्ने उनले त्यो व्यवसायबाट हात झिके ।
उनी चेम्बरको अध्यक्ष छँदा पस्मिना उद्योगलाई उत्पत्तिको प्रमाणपत्रमार्फत गरिएको प्रोत्साहनले नेपाली पस्मिना व्यवसायमा सम्भावनाको नयाँ ढोका खोलेको थियो ।
वनवारीलाल मित्तललाई बढी चिनाउने काम चाहिं हवाई व्यवसायले गर्यो । उनले १७ वर्षअघि शुरू गरेको श्री एअरलाइन्सले विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर राष्ट्रसंघका लागि लामै समय सामान ढुवानी गर्यो ।
तर, युरोपियन युनियनले नेपालबाट वायुसेवा सञ्चालन अनुमति प्रमाणपत्र पाएका कम्पनीहरूलाई कालोसूचीमा राखेपछि राष्ट्रसंघले श्री एअरलाइन्ससँगको सम्झौता तोड्यो ।
आफ्नो कम्पनीको कुनै कमजोरी नभए पनि देशको असुरक्षित नागरिक उड्डयनको मारमा परे, वनवारीलाल । सरकारी पहलबाट हल हुने समस्या भए पनि उनले अधिकारीहरूको असहयोग झेल्नुपरेको थियो ।
मांस–मदिराजन्य र प्रकृतिलाई सीधै असर पार्ने व्यवसाय नगर्न प्रतिबद्ध वनवारीलाल मित्तलले नेपालमा धार्मिक पर्यटनको अवधारणा अघि बढाए । स्वधर्म पालनाका यस्ता प्रतिबद्धताहरूले उनलाई अन्य कतिपय ठूला व्यवसायिक घरानासरह पंख फिजाउन दिएन ।
एउटा समाजसेवीको रूपमा जहिल्यै उदार भएर मुट्ठी फुकाउने उनी नेपाल नेत्रज्योति संघ, मारवाडी परिषद्, पशुपति क्षेत्र विकास कोष, नेपाल उद्योग परिसंघ आदि संघसंस्थामा आवद्ध रहे ।
उनी दान–सहयोगको प्रचारले परोपकारको मर्म मार्ने बताउँथे । हिमाल सँगको पछिल्लो भेटमा उनले भनेका थिए, “दूरदराजमा जन्मेको भए यतिवेला म भरपेट खानकै लागि संघर्ष गर्दै हुनेथिएँ होला, यसैले यो ईश्वर निर्देशित जीवनमा सकेजति लगन र इमानले काम गर्छु ।”
साथीसङ्गीमाझ उनी हँसमुख, मिलनसार र समझदारका रूपमा प्रिय रहे । गद्दीबाट कर्पोरेट युगमा पुगेको नेपाली व्यापारिक क्षेत्रको इतिहास बुझाइमा बेजोडा वनवारीलालसँगको कारोबारमा कटुता अनुभव गर्नेहरू शायदै होलान् ।
नेपाली समाजबारे गहिरो ज्ञान राख्ने उनीसँग मारवाडीबाहेक अंग्रेजी, नेपाली, नेवारी, मैथली, हिन्दी भाषामा राम्रो संवाद क्षमता थियो ।
औसत नेपाली हिसाबले आठ दशकको आयु कम्ती अनि मृत्यु असामयिक नभए पनि अनुहारको चमक र शारीरिक तन्दुरुस्ती देखिंदादेखिंदै भएको उनको निधन अप्रत्यासित थियो । ईश्वर निर्देशित वनवारीलाल मित्तललाई नेपाली समाज–संस्कृति तथा व्यापार–व्यवसाय बुझेका एक वेदाग व्यवसायीको रूपमा सम्झिइनेछ ।
उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
