समाचारआइतबार, मंसिर १३, २०७२

काउन्सिलको परीक्षामा २६५ चिकित्सक अनुत्तिर्ण

हिमालखबर

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा करिब आधा परीक्षार्थी अनुत्तिर्ण भएका छन् ।

काउन्सिलले १२ मंसीरमा लिएको परीक्षामा एमबीबीएस चिकित्सक २३० र बीडीएस (दन्त चिकित्सा) ३५ फेल भएका हुन् । परीक्षामा एमबीबीएसतर्फ ४७२ र बिडिएसतर्फ ४१ गरी कुल ५१३ परीक्षार्थी सहभागी थिए ।

परीक्षामा एमबीबीएसका ५१.२७ प्रतिशत र बिडिएस डेन्टलतर्फ १४.६३ प्रतिशत गरी कुल २४८ विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।

काउन्सिलका अनुसार अघिल्लो पटकको तुलनामा यस पटक आधाजसोले मात्रै दर्ता परीक्षा पास गरेका छन् ।

काउन्सिलले वर्षमा तीन पटकसम्म दर्ता परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तिर्ण भई दर्ता प्रमाणपत्र पाएका चिकित्सकले मात्र बिरामी जाँच्न पाउँछन् ।

नक्कली परिक्षार्थी भेटिए
यसैबीच, कान्सिलले परीक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

१२ मंसीरमा काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा संलग्न ५१३ परीक्षार्थी मध्ये कागजात जाँचका क्रममा दुईजना नक्कली परीक्षार्थी भेटिएको काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले बताए ।

काउन्सिलले शनिवार नै नक्कली परिक्षार्थीलाई प्रहरीको जिम्मा लगाएको छ । हाल दुबैजना स्यम्भु प्रहरीको हिरासतमा छन् ।

उनीहरूले जाँचमा आठ पटक असफल भएका सिराहाका नवीनकुमार यादव र १२ पटक असफल भएका रौतहटका सरोज साहका नाममा परीक्षा दिने प्रयास गरेका थिए ।

तीमध्ये यादव चीनमा एमडी तह अध्ययन गर्दैछन् भने साहसँग सम्पर्क हुन नसकेको डा अधिकारीले बताए ।

प्रहरिका अनुसार यादवको सट्टामा सुशीलकुमार मण्डल र शाहका सट्टमा नीरज शर्माले परीक्षा दिने प्रयास गरेका थिए ।

मण्डल महाराजगञ्ज शिक्षण अस्पतालबाट एमबीबीएस अध्ययन पूरा गरेका चिकित्सक हुन् भने, शर्मा सोही अस्पतालमा एमबीबीस अन्तिम बर्षका विद्यार्थी हुन् ।

प्रवेश पत्र जाँचका क्रममा हस्ताक्षर र फोटो नक्कली भेटिएको प्रवक्ता अधिकारीले बताए ।

प्रहरीले नक्कली परिक्षार्थीलाई गर्ने कारवाही टुङ्गो लागेपछि काउन्सिलले आफ्नो कारवाहि अघि बढाउने जनाएको छ ।

कारवाही स्वरुप काउन्सिलमा दर्तावाला दुई नक्कली परिक्षार्थीको काउन्सिलले कम्तीमा दुई वर्षदेखि आजीवन लाइसेन्स खारेज गर्न सक्ने अधिकार भएको प्रवक्ता अधिकारीले बताए ।

काउन्सिलको दर्ता परीक्षामा नक्कली परीक्षार्थी भेटिएको यो पहिलो पटक हो ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>