थप समाचारसोमबार, मंसिर १४, २०७२
पिपल्स र नेसनलको सीट नबढाउन अन्तरिम आदेश
पुनरावेदन अदालत पाटनले पिपल्स डेन्टल कलेज, काठमाडौं र नेशनल मेडिकल कलेज, वीरगञ्जले विद्यार्थी संख्या बढाउन माग गर्दै दिएको निवेदनको विपक्षमा अन्तरिम आदेश दिएको छ ।
नेपाल मेडिकल काउन्सिलले यसवर्ष पिपल्सलाई बीडीएस तहमा ३५ र नेशनललाई एमबीबीएस तहमा १३५ जना विद्यार्थी मात्रै भर्ना गर्ने सिट निर्धारण गरेको विरुद्ध ती कलेजले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
तर, उक्त आदेश माग गरेको भोलिपल्टै १४ मंसीरमा पुनरावेदन अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पिपल्सले माग गरे अनुसार अन्तरकालीन आदेश जारी नहुने भनेको छ ।
अदालतले अहिले अन्तरिम आदेश जारी गर्दा पछि अन्य निर्णय भएमा भर्ना भइसकेका विद्यार्थी र अभिभावकलाई क्षति पुग्ने भन्दै कलेजका विपक्षमा अन्तरकालीन आदेश जारी गरेको नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले बताए ।
पिपल्सले अघिल्लो वर्षमा काउन्सिलद्वारा पाएको ६५ सीट कायम हुनुपर्ने माग गर्दै अदालत पुगेको थियो ।
नेशनल मेडिकल कलेजले पनि अघिल्लो वर्ष कायम १५० सिट हुनुपर्ने भन्दै अदालत पुगेको थियो ।
तर, मूख्य न्यायाधीश शम्भुबहादुर खड्का र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कलेजले माग गरे अनुसारको अन्तरकालीन आदेश जारी नहुने भनेको छ ।