समाचारमंगलबार, मंसिर १५, २०७२

पेट्रोल तस्करीः ठोरी टु काठमाडौं

डम्बरकृष्ण श्रेष्ठ

पर्साको ठोरीस्थित भारतीय सीमाबाट अवैध रूपमा भित्रिरहेको इन्धनले राजधानीलाई राहत दिइरहेको छ।

 पर्सा जिल्लाको सीमावर्ती क्षेत्र ठोरीमा पेट्रोलियम पदार्थ लिन पुगेका सवारी साधन। तस्वीर:डम्बरकृष्ण श्रेष्ठ


पर्सा जिल्लाको सीमावर्ती क्षेत्र ठोरीमा पेट्रोलियम पदार्थ लिन पुगेका सवारी साधन। तस्वीर:डम्बरकृष्ण श्रेष्ठ

नेपाल–भारत सीमावर्ती पर्साको ठोरी र बेतियास्थित भिखना ठोरीमा दुई महीनायता कहिल्यै नभएको चहलपहल देखिएको छ। भारतीय नाकाबन्दीपछिको इन्धन अभावलाई काठमाडौंबाट २५० किलोमीटर टाढा, वीरगञ्जबाट ७० किमी पश्चिम ठोरीले भरथेग गरेपछि यो ठाउँले एकाएक चर्चा पाएको हो।

चितवन, भरतपुरबाट मेघौली, माडीहुँदै चितवन राष्ट्रिय निकुञ्जको दुई घना जंगलभित्रको कच्ची ढुंगे सडकबीच नेपाली सेनाको ६ वटा तगारो नाघेपछि पुगिन्छ, ठोरी। पहाडी समुदाय बाहुल्य भएकाले मधेश आन्दोलनले यो गाउँलाई सोझै असर पारेको छैन।

 भारततर्फको भिखना ठोरीबाट यसरी हरेक दिन सयौं मोटरसाइकलमा पेट्रोल ल्याइन्छ। तस्वीरहरुः विक्रम राई

भारततर्फको भिखना ठोरीबाट यसरी हरेक दिन सयौं मोटरसाइकलमा पेट्रोल ल्याइन्छ। तस्वीर: विक्रम राई

तर, अरू वेला सुनसानप्रायः यो गाउँमा नाकाबन्दीपछि हल्लाखल्ला बढेको छ। अवैध आम्दानी गर्नेका लागि यो गाउँ स्वर्ग बनिरहेको छ। यही नाकाबाट दैनिक एक लाखदेखि दुई लाख लीटरसम्म पेट्रोल नेपाल भित्रिरहेको छ।

काठमाडौंको विमानस्थलमा चल्ने पर्यटक जीपदेखि हाइलक्स, टोयोटा र पजेरोसम्मका निजी गाडी इन्धन लिन ठोरी आइपुगेका भेटिए। निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको रेकर्ड अनुसार, पेट्रोलियम पदार्थ ओसार्न एकैदिनमा ७०० वटासम्म सवारीसाधन ठोरी पुग्ने गरेका छन्।

 भारततर्फको भिखना ठोरीबाट यसरी हरेक दिन सयौं मोटरसाइकलमा पेट्रोल ल्याइन्छ। तस्वीरहरुः विक्रम राई


 तस्वीर: विक्रम राई

एक सैनिक जवान भन्छन्, “हाम्रो काम वन संरक्षणसँगै वन्यजन्तु र काठ तस्करी हेर्ने हो, यी गाडीले अरू के के बोक्छन् हामी हेर्देनौ।”

तस्करीबाट मालामाल
ठोरी पुगेको एउटा पिक अप भ्यानले पाँच हजार लीटरसम्म र बस, ट्रकमा ८ हजार लीटरसम्म इन्धन बोकिरहेको पनि देखियो। माडी प्रवेश गर्ने पुल नजिकैको होटलमा भेटिएका काठमाडौंका एक व्यापारी ७ हजार लीटर पेट्रोल काठमाडौं पुर्यायउन एक, डेढ लाख रुपैयाँ बाटोमा घूस खुवाउन कत्ति पनि आपत्ति नरहेको बताइरहेका थिए।

तस्वीर: विक्रम राई

तस्वीर: विक्रम राई

सीमापारि भारु ६५ रुपैयाँ पर्ने पेट्रोल वारि नेपाल आइपुग्दा नेरु १६० देखि १८० सम्ममा बिक्री भइरहेको थियो। डिजलको मूल्य भने लीटरको नेरु १०० देखि १२० सम्म पर्ने रहेछ। कतिपय ठूला व्यापारीहरूले पम्पसँगै सम्पर्क गरी सीमासम्म तेल मगाउने गरेको पनि देखियो।

सीमापारि भारतीय नम्बर प्लेटका सवारी मात्र जाने भएकाले उतैबाट सयौं सवारीले इन्धन ओसारिरहेका छन्। सीमाका स्थानीयवासीले इन्धन व्यापारबाटै पैसा कमाइरहेका छन्। पर्सा, चौतारा गाउँमा खुद्रे पसल खोलेकी मीना गुरुङ दैनिक सय लीटर पेट्रोल काठमाडौं पठाइरहेको बताउँछिन्।

उनी भन्छिन्, “लीटरको २१० रुपैयाँ लिएर काठमाडौंको आफन्तलाई गाडीमा पठाइदिने गरेकी छु। गाउँका केटाहरूले पेट्रोल बेचेर मोटरसाइकल किनिसके।” उनका भनाइमा दिनको पाँच वटा गाडी नगुड्ने बाटोमा अहिले सयौं गाडीले तेल ओसारिरहेका छन्।

ठोरीहुँदै नेपाल भित्रिएको इन्धन चितवनबाट संगठित रूपमा राजधानी भित्र्याइने गरिएको छ। कतिपय स्थानमा प्रशासनले आँखा चिम्ले पनि राजधानी छिर्ने नाकाहरूमा प्रहरीलाई यो कमाउने गतिलो माध्यम बनिरहेको छ। लेनदेनमा कुरा नमिलेमा प्रहरीले पेट्रोल खोस्ने गरेका छन्।

ठोरीमा नगद रु.१७५ जतिमा पाइने पेट्रोल राजधानी आइपुग्दा रु.३०० देखि ५०० प्रति लीटर बिक्री हुने गरेको छ। डिजल भने राजधानी आइपुग्दा रु.२०० देखि २२५ सम्म पर्ने गरेको छ।

अचम्म त के छ भने मधेश आन्दोलनका कारण अवरोध भएका नाकाबाट समेत इन्धन तस्करी भइरहेको छ। वीरगञ्जको मुख्य नाका रक्सौलमा आन्दोलनकारीको धर्नालाई बहाना बनाएर भारतले ट्यांकर रोके पनि अन्य स–साना नाकाबाट आन्दोलनकारीकै मिलेमतोमा तस्करी भइरहेको छ।

वीरगञ्ज पश्चिमको जानकी टोला, पिडारीगुठी, भिस्वा, बुडगाई, सिर्सिया खल्वाटोला र पूर्वका इनर्वा र बलरामपुरबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ भित्रिरहेको छ। यी नाकाबाट भित्रिएका इन्धनको ठूलो हिस्सा राजधानी पुग्छन्।

वीरगञ्जका कतिपय युवा मोटरसाइकलमा रक्सौल पुगेर पेट्रोल भर्ने र वारि ल्याई बेच्ने गरिरहेका छन्। एक व्यापारीका अनुसार आन्दोलनमा लागेका कार्यकर्तादेखि केही युवा नेता समेत तस्करीको यो सञ्जालमा सहभागी छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>