समाचारमंगलबार, मंसिर १५, २०७२
सभापति कोइरालासँग मधेशी गठबन्धनको छलफल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेशी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा आज, १५ मंसीरमा भएको छलफलमा गठबन्धनका नेताहरुले तराई–मधेश र थरुहट क्षेत्रमा भइरहेको आन्दोलनको उचित सम्बोधनका लागि गठबन्धनले अघि सारेको संविधान संशोधनको नौ सुत्रीय मागका बारेमा ध्यानाकर्षण गराएका छन् ।
गठबन्धनले सभापति कोइरालालाई आफ्ना मागको बारेमा जानकारी गराउँदै त्यसमा सामान्य छलफलसमेत भएको तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले जानकारी गराए ।
गठबन्धनका नेताहरुले मधेशको आन्दोलनका माग सम्बोधनका लागि कांग्रेस, एमाले र एमाओवादीको समान धारणा नभई समस्या समाधान हुन नसक्ने बताएका थिए ।
कांग्रेसले तराई आन्दोलनको माग सम्बोधनका लागि व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधनको प्रस्ताव अपर्याप्त भएको भन्दै गठबन्धनले आन्दोलनको मागको समग्र विषयलाई हेर्न र एउटै प्याकेजमा संशोधनको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको संयोजक गुप्ताले बताए ।
भेटमा सभापति कोइरालाले उक्त मागका बारेमा पार्टीमा छलफल गरिने बताएको उनले जानकारी दिए ।
“कांग्रेसले यसमा विशेष पहल गर्नुपर्ने र प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेसले गरेको पहल परिणाममुखी हुने गठबन्धनको विश्वास छ” उनले भने ।
मधेश आन्दोलनको मागका बारेमा सबै तराई केन्द्रित दलको समान माग रहेको बताउँदै उनले सीमाङ्कनका साथै प्रतिनिधित्व प्रणाली र समावेशीकरणका विषय नै मुख्य माग रहेको अवगत गराए ।
गठबन्धनमा तराई मधेश राष्ट्रिय अभियानका साथै शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक संलग्न छन् ।