समाचारमंगलबार, मंसिर १५, २०७२
‘कांग्रेसले सिमाङ्कनका विभिन्न विकल्पमा छलफल गर्ने’
नेपाली कांग्रेसले प्रमुख दलहरु र मधेशी मोर्चाका बीचमा हुने वार्तालाई निष्कर्षमा पुर्याउन विभिन्न विकल्पमा खुलेर छलफल गर्ने निर्णय गरेको छ ।
मधेश आन्दोलनका मागहरुबारे धारणा बनाउन १५ मंसीरमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रदेशहरुको सीमांकन, निर्वाचन क्षेत्र र समानुपातिक प्रतिनिधित्वबारे विभिन्न विकल्पमा छलफल गर्न सकिने गरी धारणा बनाएको कांग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले बताए ।
उनले सीमाङ्कनको विषयलाई पनि अब टुंगाउनु जरुरी रहेको भन्दै यसबारेमा छलफलका लागि कांग्रेस तयार रहेको बताए ।
विवादित पाँच जिल्ला (पूर्वका झापा, मोरङ सुनसरी र पश्चिमका कैलाली र कञ्चनपुर) लाई बेग्लै राखेर मधेशमा दुई प्रदेश बनाउने विकल्पमा पनि छलफल गर्न कांग्रेस तयार रहेको उनले जानकारी दिए ।
“सीमाङ्कनबारेको विवाद अब टुंग्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यस अनुसार विवादित जिल्लाबाहेक दुई प्रदेश पनि एउटा विकल्प हुन सक्छ” उनले भने, “विवादित जिल्लालाई बेग्लै राख्ने, प्रदेशभित्र विशेष क्षेत्र बनाउने, जनमतसंग्रहमा जाने जस्ता सबै विकल्पमा हामी छलफल गर्छौं, अन्य दलहरुले पनि के कस्ता विकल्पहरु प्रस्तुत गर्छन् त्यसका आधारमा सहमति गरेर अघि बढ्नु पर्छ ।”
अब पनि सहमतिमा नपुग्ने हो भने मुलुकमा थप अराजकता निम्तिन सक्ने भन्दै समस्या समाधानका लागि सबैदलहरुसँग छलफल गरी चाँडै निष्कर्षमा पुग्ने बारे बैठकमा सहमति भएको उनले जानकारी दिए ।
त्यसैगरी समानुपातिक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणका लागि कांग्रेसले पहिले नै संविधान संशोधनको प्रस्ताव दर्ता गराइसकेको भन्दै उनले त्यसबारेमा पनि थप छलफल गर्न सकिने बैठकमा छलफल भएको बताए ।