समाचारमंगलबार, मंसिर १५, २०७२

आन्दोलनको सम्बोधन राजनीतिक तवरमा हुनुपर्छः एमाओवादी

हिमालखबर

एमाओवादीले तराई–मधेशको समस्यालाई राजनीतिक तवरले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा १५ मंसीरबाट सुरु भएको एमाओवादीको केन्द्रीय समितिको बैठकमा राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

मधेशको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै एमाओवादीले लामो समयदेखिको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएको, मुलुकको आर्थिक प्रणाली अत्यन्तै सङ्कटग्रस्त भएको एमाओवादीले ठहर गरेको छ ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाको र पार्टीको भावी कार्यदिशाका विषय समेटिएको २७ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

उनले राजनीतिक विषयलाई राजनीतिक तवरले र अन्य प्राविधिक तथा विवादका विषयलाई समग्र राजनीतिक सहमतिका आधारमा मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले विभिन्न कालखण्डमा पार्टी छाडेका र छुट्टै पार्टी बनाएका मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका विभिन्न माओवादी घटकलाई पार्टी एकताका लागि समेत आग्रह गरेका छन् ।

संविधान जारी भइसकेको अवस्थामा त्यसबाट प्राप्त भएका प्रगतिशील र परिवर्तको मूल्य र मान्यतालाई आत्मसात् गर्दै भावी सङ्घर्षमा जुट्नेसमेत राजनीतिक प्रतिवेदनमा समेटिएको छ ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस गरिएको र समसामयिक विषयमा आफ्नो धारणा राखेको बताए ।
उनले राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय सदस्यलाई अध्ययनका लागि १६ मंसीरको समय दिएको र १७ मंसीरमा पुनः बैठक बस्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>