थप समाचारबुधबार, मंसिर १६, २०७२
सिरहामा स्कुले विद्यार्थी प्रदर्शनमा
सिरहामा स्कुले विद्यार्थीहरुले मधेशमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मानव साङ्लो बनाएका छन् ।
प्याबसन र एनप्याबसन र शिक्षक संगठनहरुको आयोजनामा जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रदर्शनमा उतारिएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पूर्वी सिमाना बलान नदीदेखि पश्चिमी सिमाना कमला नदी सम्मको करिब ४५ किलोमिटर दुरीमा विद्यार्थीले मानव साङलो बनाएका हुन् ।
राजधानीको चक्रपथमा भारतीय नाकाबन्दी विरुद्ध प्याब्सनको आयोजनामा बालबालिकाले मानवसाङलो बनाएपछि मधेशका जिल्लाहरुमा दैनिक जसो मधेश आन्दोलनको समर्थनमा स्कुले विद्यार्थीहरुलाई उतार्ने गरिएको छ ।
राजधानीमा बालबालिकाले मानवसाङलो बनाउनुअघि नै मानवअधिकार आयोग, बाल कल्याण समिति, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायतका संस्थाले बालबालिकालाई आन्दोलन, विरोध प्रदर्शन जस्ता कार्यमा लगाउनु बालअधिकार विरुद्ध हुने भन्दै त्यसो नगर्न आग्रह गरे पनि बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न रोकिएको छैन ।
दिलिपकुमार सिंह, सिरहा