थप समाचारबुधबार, मंसिर १६, २०७२
मोर्चाका कार्यकर्ताले युवकको शरीरमा पेट्रोल छर्की आगो लगाए
मधेशी मोर्चाका कार्यकर्ताले नवलपरासीको सनई ९ पडरीमा एक युवकको शरीरमा पेट्रोल छर्की आगो लगाएका छन् ।
मोर्चाका कार्यकर्ताले तेल तस्करी गरेको आरोपमा रुपन्देहीको फर्साटिकर घर भएका ३० वर्षीय घिराउ यादवको शरीरमा पेट्रोल खन्याई आगो लगाएपछि उनी गम्भीर घाइते भएका छन् ।
घाइते यादवको स्थानीय पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ ।
पडरीस्थित आफ्नी फुपुको घरमा आएका यादवले मोटरसाईकलमा फर्कने बेला पेट्रोल लगेको भन्दै मोर्चाका कार्यकर्ताले यादवको जिउमा पेट्रोल छर्की आगो लगाइदिएको उनकी फुपु विन्द्रावतीले बताइन् ।
यादव हिजो राति फुपुको घरमा बसी विहान घर फर्कंदै थिए ।
घिराउ यादव चढेको लु ३ प २०१७ नम्बरको मोटरसाईकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो लगाउने समूहमध्येका एक जना स्थानीय राजेश सैथवार र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आगो लगाउने समूहका अन्यको खोजी साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
यसअघि १० मंसीरमा मोर्चाका कार्यकर्ताले मोरङको भाथिगाछ–७ का बब्लु राजवंशीमाथि पेट्रोल छर्केर आगो लगाएका थिए ।
विद्रोही गिरी, नवलपरासी